विदेश । पछिल्लो समय कोरोना भाइरस (कोभिड १९) संक्रमण भारतमा बढ्दो छ । दिनदिनै संक्रमित संख्या बढ्दै गर्दा सरकारले लकडाउन गरेर सामाजिक दुरी कायम गर्ने प्रयास गरिरहेको छ । यसैले गर्दा विश्वनै ठप्प झैँ छ । खेलकुदकै कुरा गर्ने हो भने यो वर्ष आयोजना हुने भनिएको ओलम्पिक आउँदो वर्षलाई सारिएको छ । अन्य घोषित प्रतियोगिता पनि भइरहेका छैनन् । कोरोना भाइरसको संक्रमणलाई बढ्न नदिन विश्वका अधिकांस देश ‘लकडाउन’ मा छन् ।
कोरोना भाइरसको महामारी कारण स्थगित भएको प्रिमियर लिग पुनः सञ्चालन हुनेमा अहिले शंका उब्जिएको छ । युरोपियन फुटबल महासंघ (यूईएफए) का अध्यक्ष एलेक्जेन्डर सेफरिनले इङ्लिस प्रिमियर लिगको सिजन रद्द भए लिभरपुलले उपाधि जित्ने बताएका छन्। लिग सुचारु हुन नसकेको अवस्थामा लिभरपुल स्वतः उपाधिको दावेदार हुने बताइएको छ । प्रिमियर लिग स्थगित हुनु अघि नै लिभरपुल मुख्य दावेदार रहेको र म्यानचेस्टर सिटीभन्दा २५ अंकले माथि रहेकाले लिभरपुल उपाधिको हकदार रहेको अध्यक्ष सेफरिनले प्रस्ट्याएका छन् ।
सन् १९९० पछि पहिलो पटक च्याम्पियन बन्ने अभियानमा रहेको लिभरपुलले अब तीन खेल मात्र जितेमा च्याम्पियन बन्नेछ । शीर्षस्थानमा रहेको लिभरपुलको २९ खेलबाट ८२ अंक छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २८ खेलबाट ५७ अंक र तेस्रो स्थानमा रहेको लेस्टर सिटीको ५३ अंक छ। युईएफएको हालै बसेको भिडियो कन्फ्रेन्स बैठकले पनि प्रिमियर लिगलगायत युरोपका अन्य लिगको बारेमा कुनै निर्णय गर्न सकेन। (एजेन्सी)









