‘कांग्रेस सधै जनतासँगै छ’

0 Shares

देश । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर नेपाली जनताको विश्वास तोडेको बताएका छन् । नेपाल महिला संघ क्षेत्र नम्बर ३ सर्लाहीको आयोजना रहेको ‘महिला सशक्तीकरण तथा नेतृत्व विकास’ प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्न सर्लाही आइपुगेका डाक्टर कोइरालाले नेकपाले आफ्नो वास्तविकता अहिले जनता समक्ष ल्याईरहेको बताए ।

‘यतिबेला नेकपाका दुवै पक्षका नेताहरुले आफ्नो असलियत जनता समक्ष ल्याईरहनु भएको छ । उहाँहरुले एक अर्कालाई लगाईरहेको आरोपमा पूर्ण सत्यता छ । हामीले पहिले देखि त्यो कुरा भनेका छौँ’ डा. कोइरालाले भने । उनले कांग्रेसले हिमाल , पहाड र तराइको मर्म बुझ्नेमा जोड दिए । उनले सर्वोच्च संस्था अदालतको निर्णय मान्ने बताउदै ओलीको कदम सच्याएर मात्र निर्वाचनमा जान सकिने बताए । आज ओलीले जीले गरेको संसद विघटन ठिक छ भने भोलि निर्वाचनबाट आउने अर्को प्रधानमन्त्रीले पनि आफूअनुकुल विघटन गर्न पाउने नजिर बस्छ , अनि त्यतिबेला के गर्ने ?’ उनले प्रश्न गर्दै भने ,’आफ्नो घरको झगडा मिलाउन वा आफ्नो कुर्सि बचाउन जनताले चुनेको प्रतिनिधिको सभा नै विघटन गर्ने अधिकार कसले दियो प्रधानमन्त्रीलाई ?

डा. कोइरालाले चुनाव भएयता पनि नभएता पनि नेपाली कांग्रेसको महाधिवेशन आउँदो भाद्र भित्र सम्पन्न हुने बताए । ‘हाम्रो बिधनानुसर हामीले भाद्र भित्रमा महाधिवेशन गर्नै पर्छ र गर्छौ पनि ढुक्क हुनुस् किनकी विधान भन्दा माथि कोहिछैन’ उनले भने । उनले आफु सभापतिको आकांक्षी रहेको स्वीकार्दै आफुले टिममा छलफल गरेपछि ठोस निर्णय लिने बताए ।‘ मैले आफूभन्दा सिनियर अनि नेता कार्यकर्ताहरुसँग छलफल जारी राखेको छु, उहाँहरुको सल्लाहअनुसार अगाडी बढ्ने छु ’ उनले भने । महिला नेतृत्वलाई अझै सशक्त भएर अगाडी आउन उनले आग्रह गरे । ‘महिला नेतृत्व परिवर्तन अझै छिटै गर्न सक्छ , तपाईहरु आउनुस् सबल र सक्षम बनेर’ उनले आग्रह गरे । नेपाली कांग्रेसका कार्यकर्तालाई जनता समक्ष पुग्न सुझाउदै अल्छीपना त्याग्न आग्रह गरे ।

‘विपी देखि सुशील दासम्म नेताहरु नजिक थिए , पार्टी घर थियो र कार्यकर्ता परिवार त्यसैले सबैको विश्वास थियो । हामीले कार्यकर्ता हुँदै जनता कहाँ पुगेर सुख दु:खमा साथ दिनु पर्छ’ उनले सुझाए । यस्तै , प्रधानमन्त्री केपी ओलीले गरेको संसद् विघटन असंवैधानिक, अलोकतान्त्रिक र अराजनैतिक रहेको दाबी गर्दै नेता कोइरालाले यो विषयमा कांग्रेस एक रहेको समेत प्रश्ट्याए । नेपाली कांग्रेसका पुर्व जिल्ला उपसभापति तथा मह समिति सदस्य विनोदकुमार खनालको संयोजकत्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु डा. महालक्ष्मी उपाध्याय ‘डिना’ , दीपक गिरी , रामकृष्ण यादव , सरिता प्रसाईं , का.म.न.पा. उपमेयर हरिप्रभा खड्गी , सर्लाही जिल्ला पुर्व सभापतिहरु अशोक खनाल , सत्यदेव सिंह , लक्ष्मण राय , नेपाली विद्यार्थी संघका पुर्व केन्द्रीय सदस्य रघु कार्की , वितिय विभाग तर्फका केन्द्रीय सदस्य रामहरि न्यौपाने लगायतको स्थानीय नेताहरुको उपस्थिति रहेको थियो ।

पार्टी प्रवेश

यसैगरी डाक्टर शेखर कोइराला नेपाली कांग्रेस हरिवनले आयोजना गरेको दुई छुट्टाछुट्टै स्थानमा पार्टी प्रवेश कार्यक्रममा सहभागी भएका छन् । उनको प्रमुख आतिथ्यतामा हरिवन नगरपालिका–८, बेताली र वडा नम्बर ५ घुर्कौलीमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो । बेतालीमा रविन विक, अर्जुन खड्का, गुरुदेव माझी, सहदेव माझी लगायत ५० जना भन्दा बढी नेपाल कम्युनिष्ट पार्टी छाडेर कांग्रेस प्रवेश गरेको कांग्रेस नेता रमेश भट्टराईले बताए ।

त्यस्तै, हरिवन नगरपालिका–५, घुर्कौलीमा भएको पार्टी प्रवेश कार्यक्रममा स्थानीय तथा नेपाली कांग्रेस नेता विजय स्याङ्तानको अगुवाईमा नेकपा लगायत विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा १ सय ५० बढी प्रवेश गरेका छन् । दुवै कार्यक्रममा नवप्रवेशीलाई कांग्रेस नेता डा. शेखर कोइरालाले अबिर र माला लगाएर स्वागत गरेका थिए ।

कमेन्ट गर्नुहोस्