‘सिन्दुरे जात्रा’ को गीत ‘बाँसैको सुप्लाखे’ सार्वजनिक

फिल्म । नेपाली फिल्म ‘सिन्दुरे जात्रा’को गीत सार्वजनिक भएको छ । ‘बाँसैको सुप्लाखे’ बोलको गीतमा प्रशान्त सिवाकोटी र मेलिना राईको स्वर रहेको छ । सुरज गैरे विवशको शब्द रहेको गीतमा प्रशान्त सिवाकोटीकै सङ्गीत छ ।

प्रेमिल जोडीको माया र भावनालाई समेटिएको गीतमा प्रेम, लाज, इसारा, विश्वास र आश्वासनका भाव प्रस्तुत गरिएको छ । प्रेममा रहेका युवा–युवतीले इसारैइसारामा व्यक्त गरेका मनका भाव गीतमा समेटिएका छन् । मनका कुरा सुटुक्क साट्दै जीवन एकअर्कालाई समर्पण गर्ने प्रसङ्ग गीतमा उल्लेख छ । वयालु जोडीबीचको प्रेम र आँखाबाटै व्यक्त हुने मायाको भावलाई गीतले प्रस्तुत गर्ने प्रयास गरेको छ ।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार विजय बराल र अञ्जना बराइली देखिएका छन् । भिडियोमा उनीहरूको आकर्षक नृत्य रहेको छ । विजय र अञ्जनाको नृत्यले गीतलाई थप आकर्षक बनाएको छ ।

सरोज पौडेलको निर्देशनमा बनेको ‘सिन्दुरे जात्रा’मा नेपाली फिल्म क्षेत्रको सफल जोडी विजय बराल र अञ्जना बराइली मुख्य भूमिकामा छन् । यो उनीहरूको दोस्रो सहकार्य हो । यसअघि उनीहरूले नेपाली फिल्म इतिहासकै सफल फिल्ममध्ये एक ‘पूर्णबहादुरको सारङ्गी’मा सँगै काम गरेका थिए ।

फिल्ममा विजय र अञ्जनासँगै विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोला राज सापकोटा, हिउँवाला गौतम, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकारको अभिनय रहेको छ ।

सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको फिल्मको कथा निर्देशक पौडेल स्वयंले तयार पारेका हुन् । सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्माता नेम महर्जन हुन् । राकेश खड्का र श्याम मगर सहनिर्माता तथा सुमन रञ्जित एसोसिएट निर्माता छन् । अनिश अधिकारीले लाइन निर्माताको जिम्मेवारी सम्हालेका छन् ।

दिनेश खड्का कार्यकारी निर्माता रहेको फिल्ममा पदमबहादुर श्रेष्ठ (बाबु)को छायाङ्कन, सुरेन्द्र पौडेलको सम्पादन र विशाल घिमिरेको सिर्जनात्मक निर्देशन रहेको छ । फिल्ममा प्रशान्त सिवाकोटीको सङ्गीत रहनेछ ।

कमेन्ट गर्नुहोस्