‘अभिमन्यु : च्याप्टर–१’ को पोस्टर सार्वजनिक

फिल्म । नेपाली फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ को पहिलो पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा अभिनेता कामेश्वर चौरासियालाई उत्साहपूर्ण मुद्रामा देख्न सकिन्छ, जहाँ उनी चिच्याइरहेको जस्तो देखिन्छ । पृष्ठभूमिमा विराटनगर कारागार र तारबारमाथि उनको अभिव्यक्ति छ, भने अगाडि एउटा रातो डफल ब्याग राखिएको छ ।

कारागार, डफल ब्याग र कामेश्वरको अभिव्यक्तिले उनी या त फिरौती रकम तिर्दै छन् वा उठाउँदै छन् भन्ने अनुमान लगाउन सकिन्छ । यद्यपि, पोस्टरको शान्त नीलो रङले कथामा कन्ट्राडिक्सन थपेको छ, जसले रहस्यमयता बढाएको छ।यो फिल्म भदौ २७ गते रिलिज हुँदैछ, भने यसको हिन्दी संस्करण असोज ६ (सेप्टेम्बर २२) मा प्रदर्शन हुनेछ ।

फिल्मले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्कने प्रयास गर्ने व्यक्तिको संघर्षको कथा प्रस्तुत गर्ने अनुमान गरिएको छ । हाल पोस्टप्रोडक्सनमा रहेको ‘अभिमन्यु : च्याप्टर-१’ मा कामेश्वर चौरासियासँगै सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल र सुष्मा निरौला मुख्य भूमिकामा छन् ।

सेभेन सिज सिनेमाको प्रस्तुतिमा बनेको यो फिल्म सुशान्त गौतमको डेब्यु निर्देशन हो । मुकेश खनालको लेखन रहेको फिल्मको क्रिएटिभ निर्देशक मदन थापा छन् । विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको यो फिल्ममा रमेश चौलागाई र हरि श्रेष्ठ सह-निर्माता छन् । विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ कार्यकारी निर्माता छन् । जीवन शाक्य लाइन प्रोड्युसर रहेको फिल्ममा आकाश उखेडा मुख्य सहायक निर्देशक, मदन घिमिरे सम्पादक र सरोज श्रेष्ठ निर्माण नियन्त्रक छन् । शरद महतोको छायांकन रहेको यो फिल्मले दर्शकलाई नयाँ कथावस्तु र रोमाञ्चक प्रस्तुति दिने अपेक्षा गरिएको छ ।

कमेन्ट गर्नुहोस्