फिल्म । आगामी कात्तिक २६ गते प्रदर्शनमा आउने फिल्म ‘बाटुलो जून’को शीर्ष गीत सार्वजनिक भएको छ । फिल्मकै नाम रहेको ‘बाटुलो जून’ शीर्षकको गीतमा मुख्य कलाकार अनमोल केसी र प्रिन्सी खतिवडासँगै निर्देशकसमेत रहेका अभिनेता भुवन केसी र अभिनेत्री गरिमा पन्त पनि फिचर्ड छन् ।
यसअघि सार्वजनिक प्रचार सामग्रीमा निर्माण टिमले भुवन केसीलाई देखाए पनि गरिमा पन्तको उपस्थितिलाई गोप्य राखेको थियो। पछिल्लो समय नेपालबाहिर बस्दै आएकी गरिमाका लागि यो फिल्म कमब्याक प्रोजेक्टसमेत हो।
सार्वजनिक गीतमा राम अविरल बिष्टको शब्द रहेको छ भने एसडी योगी र सानु सुनारले स्वर दिएका छन्। गीतको सङ्गीत संयोजन पनि एसडी योगीले नै गरेका हुन्। नृत्य निर्देशक कविराज गहतराजले गीतको शब्द र सङ्गीतअनुसार कलाकारहरूलाई आकर्षक ढङ्गले प्रस्तुत गरेका छन्।
जिया केसी र भविष्य खड्का निर्माता रहेको फिल्ममा नेन्सी खड्का, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमिल्सिना, लक्ष्मी गिरी, दीपक केसी, रेअर राई, श्वेता मिश्र, सुजन भाइ, सविन कट्टेल, सिद्धार्थ सिंह, अमितेश शाह, हीना नगरकोटी र संगी अधिकारी पोखरेललगायत कलाकारको अभिनय छ। विवेक थापा फिल्मका सहनिर्माता हुन्।
कृष्ण भण्डारी सम्पादक रहेको फिल्मको लेखनमा सामीप्यराज तिमल्सेनासँग सरिन पोखरेलले सहकार्य गरेका छन्। फिल्ममा रोमन बज्राचार्यको पार्श्व सङ्गीत रहेको छ भने प्रदीप श्रेष्ठ एसोसिएट निर्देशकका रूपमा छन्।









