‘खराने ग्याङ’ को अभिव्यक्तिप्रति दीपकले दिए जवाफ

फिल्म । अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जालमा चर्चामा रहेको ‘खराने ग्याङ’का लिडरको अभिव्यक्तिप्रति जवाफ फर्काएका छन् । उनले आफ्नो अभिव्यक्तिलाई सन्दर्भबाट अलग गरेर प्रस्तुत गर्दै बहिष्कारको अभियान चलाइएको भन्दै आपत्ति जनाएका हुन् ।

फिल्म ‘छ माया छपक्कै २’ को नौ दिनको बक्स अफिस रिपोर्ट सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा यस फिल्मलाई लिएर विभिन्न भिडियो सार्वजनिक भइरहेका छन् । बक्स अफिसमा अपेक्षाअनुसारको नतिजा नआएको भन्दै दीपकराजका पुराना अभिव्यक्तिका क्लिप सम्पादन गरेर फिल्म बहिष्कार गर्नुपर्ने आशयका भिडियोसमेत भाइरल बनाइएका छन् ।

यही विषयलाई लिएर दीपकराजले सामाजिक सञ्जालमा स्टाटस लेख्दै असहमति व्यक्त गर्ने तरिका बौद्धिक हुनुपर्ने बताएका छन् । उनले कसैलाई लखेट्ने, पिट्ने वा भगाउने कार्य उचित नभएको उल्लेख गर्दै असहमति भए बौद्धिकताका आधारमा जवाफ दिनुपर्ने आफ्नो भनाइ रहेको स्पष्ट पारेका छन् ।

तर, आफ्नो अभिव्यक्तिमा विभिन्न अंश थपघट तथा सम्पादन गरेर गलत व्याख्या गरिएको भन्दै उनले असन्तुष्टि जनाएका छन् । केही अतिवादी कार्यकर्ताले आफ्नो तस्बिर राखेर बहिष्कारको नारा लगाउँदै सामाजिक सञ्जालमा सामग्री सार्वजनिक गरेको उनको आरोप छ ।

दीपकले जातीयता र अतिवादका नाममा समाजमा द्वन्द्व सिर्जना गर्ने तथा कला र संस्कृतिको क्षेत्रमा समेत जातीय विभेद र घृणा फैलाउने प्रवृत्तिको आफू सधैँ विपक्षमा रहेको बताएका छन्। उनले लेखेका छन्, ‘कसैलाई लखेट्नु, पिट्नु, भगाउनु राम्रो होइन। यदि असहमति छ भने बौद्धिकताले लखेट्नुपर्छ।’

आफ्नो भनाइको गलत व्याख्या गरिएको भन्दै उनले लेखेका छन्, ‘मेरो अभिव्यक्तिलाई केही अतिवादी कार्यकर्ताहरूले अनेकौँ फुर्का थपेर, बीचका अंश सम्पादन गरेर गलत व्याख्या लगाउँदै मेरो फोटो राख्दै बहिष्कारको नारा लगाउँदै सामाजिक सञ्जाल रङ्गाएको देख्दा ताज्जुब नै लाग्यो ।’

उनले जातीयता र अतिवादलाई राजनीतिक स्वार्थ पूरा गर्ने माध्यम बनाइएको भन्दै त्यसको विरोध गरेका छन्। ‘हरेक कुरामा जातीयता छिराउने, अतिवादको बुइँ चढेर वर्षौंदेखिको सहिष्णुतामा हुर्केको समाजमा द्वन्द्व सिर्जना गरेर आफ्नो राजनीतिक अभिष्ट पूरा गर्ने, साथै कला र संस्कृति क्षेत्रमा समेत जातपात छिराएर घृणा फैलाउने कुराको सदैव विपक्षमा नै उभिएको थिएँ र रहिरहनेछु,’ उनले लेखेका छन् ।

स्टाटसको अन्त्यमा उनले जात, पात र धर्मलाई राजनीतिसँग जोडेर घृणा फैलाउन नहुने आशय व्यक्त गर्दै ‘जात, पात, धर्म भनेको श्राद्धे र पूजाआजामा काम लाग्ला, राजनीतिमा लाग्दैन । जय नेपाल !’ लेखेका छन् ।

कमेन्ट गर्नुहोस्