
फिल्म । यही असार २८ मा प्रदर्शन हुने मगर समुदाय र संस्कृतिमा आधारित फिल्म ‘घरज्वाइँ’ को अग्रीम टिकट बुकिङ र बिक्री खुल्ला गरिएको छ । मंगलबार राजधानीमा आयोजित प्रिमियर शोमा राम्रो तारिफ पाएको फिल्मले मल्टीप्लेक्सदेखि सिङ्गल स्क्रिनसम्म उच्च शोज पाएको छ । निर्देशक अनिल बुढा मगरले विवाह संस्कृतिलाई प्रस्तुत गरेको फिल्मलाई ठुलो मल्टीप्लेक्स चेन क्युएफएक्सले मात्रै देशभरका ४० स्क्रिनमा ५७ शो पाएको छ ।
यता, देशकै दोस्रो ठुलो मल्टीप्लेक्स चेन आईएनआई सिनेमाज्ले १३ शो, एफक्युबले ६ शो, बिएसआर मुभिजले ५ शोज दिएका छन् । यस्तै, वान सिनेमाज्, सिके सिनेमाज्, रञ्जना सिनेप्लेक्स, विश्ज्योती सिनेमाज्, सिने डी सेफ लगायतका सिनेमा हलले अहिलसम्म अग्रीम टिकट बुकिङ खुल्ला गरिसकेका छैनन् ।प्रिमियरका पाएको प्रतिक्रिया र प्रचार सामाग्रीबाट मिलेको हाइपले गर्दा फिल्मले बक्सअफिसमा राम्रो सुरुवात गर्ने विश्वास निर्माता र वितरकको छ ।शुक्रबारबाट मिल्ने दर्शकको साथ र वर्डअफ माउथले शो र व्यापार दुवैमा बढोत्तरी मिल्ने आशा निर्माण कम्पनिको छ ।
अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर समुदायको पहिरनमा उपस्थित थिए । फिल्ममा उनीहरुको प्रेमलाई मगर संस्कृतिसँग जोडेर प्रस्तुत गरिएको छ । मिरुनालाई प्राप्त गर्न दया घर ज्वाइँ बस्नु पर्ने प्रचलनलाई फिल्ममा देखाईएको छ । जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय रहेको छ ।

जनक घर्ती मगर निर्माता रहेको फिल्ममा सुसन प्रजापतिको छायांकन, निर्देशक मगरसँगै बिनोद खतिवडा र सुभाष कोइरालाको पटकथा तथा संवाद, हर्क साउद र मनोज थापाको शब्द तथा संगीत, कृष्ण भन्डारीको सम्पादन रहेको छ ।
