फिल्म । गत शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ले बक्स अफिसमा आक्रामक सुरुवात गरेको छ । फिल्मले प्रदर्शनको पहिलो दिन २ करोड १३ लाख रुपैयाँ कलेक्सन गरेको निर्माण पक्षले जानकारी दिएको छ ।
पहिलो दिनमै देशभरका हलमा उत्साहजनक व्यापार गरेको फिल्मले दोस्रो दिन शनिबार पनि दर्शकको उल्लेख्य साथ पाइरहेको छ । शनिबारका अधिकांश शोसमेत हाउसफुल भएका छन् । अग्रिम बुकिङदेखि नै उच्च क्रेज देखिएको फिल्मले दोस्रो दिन पनि २ करोड रुपैयाँभन्दा बढीको व्यापार गर्ने संकेत देखिएको छ।
‘कबड्डी’ शृङ्खलाको पाँचौँ भागप्रति दर्शकले देखाएको उत्साहले नेपाली फिल्म बजारमा थप रौनक ल्याएको छ। पहिलो दिनको उत्कृष्ट कलेक्सन र दोस्रो दिन पनि देखिएको दर्शकको चापले फिल्मको समग्र व्यापारप्रति अपेक्षा बढाएको छ।
रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको फिल्ममा दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजर, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पेहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंसहितका कलाकारको अभिनय रहेको छ।
बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्मका निर्माता रामबाबु गुरुङ, मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी) हुन्। सागर राज कार्यकारी निर्माता रहेको फिल्ममा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन तथा सुरेन्द्र पौडेलको सम्पादन रहेको छ।









