बक्स अफिसमा कस्तो हुँदैछ तीन फिल्म ?

फिल्म । दसैँलाई लक्षित गर्दै प्रदर्शनमा आएका नेपाली फिल्मले दर्शकको कस्तो साथ पाइरहेका छन् ? यो जिज्ञासा धेरैमा छ । किनकि दसैँमा नेपाली फिल्मको बजार धेरै फराकिलो देखिएको छ । विसं २०८१ को दसैँमा फर्किने हो भने त्यो समय प्रदर्शनमा आएका तीन फिल्मले झन्डै ३८ करोडको हाराहारीमा व्यपार गरेको थियो ।

सोही व्यापारलाई मध्यनजर गर्दै यसपटक दसैँमा प्रदर्शन भएका ‘आ बाट आमा २’, ‘छ माया छपक्कै २’ र ‘१२ गाउँ २’ सुरुवाती दिनदेखि नै दर्शकको ध्यान तान्ने प्रतिस्पर्धामा छन् । फरक कथावस्तु, कलाकारको आकर्षण र प्रस्तुतिको भिन्नतासहित हलमा आएका यी तीन फिल्मबीचको बक्स अफिस प्रतिस्पर्धा रोचक बन्दै गएको छ।

गत शुक्रबार असोज ३० देखि प्रदर्शनमा आएका ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ तथा शनिबार अर्थात् असोज ३१ देखि हलमा लागेको ‘छ माया छपक्कै २’ बीच अहिले बक्स अफिसमा प्रतिस्पर्धा चलिरहेको छ । प्रदर्शनरत तीन फिल्ममध्ये हामीलाई प्राप्त व्यावसायिक विवरण अनुसार ‘आ बाट आमा २’ अगाडि देखिएको छ ।

चन्द्र पन्तको निर्देशनमा बनेको ‘आ बाट आमा २’ले आमाको माया र सन्तानबीचको गहिरो भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेको छ । पारिवारिक प्रेम, सम्बन्धको मिठास र आमा-सन्तानबीचको आत्मीयतालाई मुख्य विषय बनाइएको यस फिल्मले दर्शकको भावनालाई छुने प्रयास गरेको छ ।

फिल्मको ग्रस कमाइ २ करोड ७२ लाख रुपैयाँ पुगेको स्रोतले जानकारी दिएको छ । फिल्ममा विपना थापा, पल शाह, मलिका महत, रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का र दिलिप अखेडालगायत कलाकारको अभिनय रहेको छ। पारिवारिक कथामार्फत दर्शकको मन जित्ने प्रयास गरेको यस फिल्मलाई चन्द्र पन्तले निर्देशन गरेका छन् ।

दीपेन्द्र लामाको निर्देशनमा बनेको ‘छ माया छपक्कै २’ले पारिवारिक सम्बन्ध, प्रेम, विश्वास, आशा र धोकाजस्ता विषयलाई समेटेको छ । फिल्ममा दीपकराज गिरी, केकी अधिकारी र शनिसा भट्टराई मुख्य भूमिकामा छन्। रोहित अधिकारी निर्माता रहेको फिल्ममा दीपकराज गिरी राइडरको भूमिकामा प्रस्तुत भएका छन्।

फिल्मले घरेलु बजारमा २ करोड १४ लाख रुपैयाँ ग्रस कमाइ गरेको स्रोतले जानकारी दिएको छ । फिल्ममा मेक्सम गौडेल, रमा थपलिया, रवीन्द्र झा, दीपाश्री निरौला, निर्मल शर्मा, प्रकाश घिमिरे र कर्मालगायत कलाकारको पनि अभिनय रहेको छ।

विराज भट्टको निर्देशनमा बनेको ‘१२ गाउँ २’ एक्सनप्रधान फिल्म हो । एक्सन दृश्यसँगै पारिवारिक सम्बन्ध, संघर्ष र प्रतिशोधको कथालाई जोडेर निर्माण गरिएको यस फिल्ममा विराज भट्ट र समीर भट्ट मुख्य आकर्षणका रूपमा रहेका छन् । विसं २०८१ को दसैँमा घरेलुबजारमा झन्डै २० करोड रुपैयाँको ग्रस कमाइ गरेको फिल्म यसपटक भने सो गतिमा अगाडि बढ्न सकेको छैन ।

फिल्मले हालसम्म १ करोड ७५ लाख रुपैयाँ ग्रस कमाइ गरेको स्रोतले जानकारी दिएको छ । फिल्ममा विराज भट्ट, समीर भट्ट, अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कालु राना, कृशु शाही (काफिया), वर्षा इटनी, खुसी कार्की र पुष्कर भट्टलगायत कलाकारको अभिनय रहेको छ। यसै फिल्मबाट कृशु शाही (काफिया) र वर्षा इटनीले नेपाली फिल्म क्षेत्रमा पदार्पण गरेका छन्।

प्राप्त विवरणअनुसार, प्रदर्शनरत तीन फिल्ममध्ये ग्रस कमाइ र शो संख्याका आधारमा ‘आ बाट आमा २’ अगाडि देखिएको छ । त्यसपछि ‘छ माया छपक्कै २’ र ‘१२ गाउँ २’ रहेका छन् ।

तीनवटै फिल्मले फरक कथावस्तु र प्रस्तुतिमार्फत दर्शकलाई आकर्षित गर्ने प्रयास गरेका छन् । पारिवारिक भावनामा आधारित ‘आ बाट आमा २’, सम्बन्धका उतारचढाव समेटेको ‘छ माया छपक्कै २’ र एक्सनप्रधान ‘१२ गाउँ २’ बीचको प्रतिस्पर्धाले दसैँको फिल्म बजारलाई थप रोचक बनाएको छ ।

कमेन्ट गर्नुहोस्