फिल्म । नेपाली फिल्म ‘गौँथली’ले फ्रान्समा आयोजना हुने ‘वर्ल्ड फिल्म फेस्टिभल इन क्यान्स’मा ‘वेस्ट फरेन सिनेमा’ अवार्ड जितेको छ । फिल्मले अन्तर्राष्ट्रिय महोत्सवमा अवार्ड जितेपछि निर्देशक डा. कपिल रिजाल र निर्माता सुमन गिरीले खुसी व्यक्त गरेका छन् ।
‘वर्ल्ड फिल्म फेस्टिभल इन क्यान्स’लाई ‘रिमेम्बर द फ्युचर’ नामले पनि चिनिन्छ । फ्रान्सको कान्समा आयोजना हुने यस फेस्टिभलमा मासिक रूपमा अनलाइनमार्फत फिल्म सबमिसन गर्न सकिन्छ भने मासिक तथा वार्षिक रूपमा भौतिक स्क्रिनिङ, रेड कार्पेट र अवार्ड समारोह आयोजना हुने गरेको छ ।
फिल्मले प्राप्त गरेको सफलतालाई निर्देशक र निर्माताले ‘गौँथली’को अन्तर्राष्ट्रिय उडानका रूपमा व्याख्या गरेका छन् । निर्देशक डा. कपिल रिजालले फिल्मले पाएको माया र सफलताले आफूलाई भावुक बनाएको बताएका छन् ।
‘आज मन गर्वले भरिएको छ, अनि आँखामा खुसीका आँसु छन्। २५ वर्षअघि मेरा बुवा डा. भोला रिजालले निर्माण गर्नुभएको गीतिचलचित्र ‘गौँथली’को त्यही भाव, त्यही माया र त्यही विरासतलाई आत्मसात् गर्दै मैले नयाँ पुस्तासम्म नयाँ ढंगले पुर्याउने एउटा सानो प्रयास मात्र गरेको हुँ। तर, आज ‘गौँथली’ले जुन माया, साथ र सफलता प्राप्त गरेको छ, त्यसले मन भावुक बनाएको छ’, निर्देशक रिजालले भने ।
उनले ‘गौँथली’ एउटा फिल्ममा मात्र सीमित नभई भावना, सपना र नेपाली फिल्मप्रतिको प्रेमसँग जोडिएको सुन्दर यात्रा भएको बताएका छन् । उनले यो उपलब्धिलाई व्यक्तिगत सफलताभन्दा पनि सम्पूर्ण ‘गौँथली’ टिमको जितका रूपमा लिएका छन् । निर्माता सुमन गिरीले पनि फिल्मले अन्तर्राष्ट्रियस्तरमा सफलता हासिल गरेपछि गौरवको अनुभूति भएको बताएका छन् ।
‘तपाईंहरूको माया, साथ र आशीर्वादले आज हाम्रो ‘गौँथली’ कान्ससम्म पुगेर विजेता बन्न सफल भएको छ । हिजो एउटा सपना थियो, आज त्यो सपना गौरवपूर्ण इतिहास बनेको छ’, उनले भनेका छन्।
उनले दर्शकको माया, विश्वास र हौसलाले यो खुसीको क्षण सम्भव भएको उल्लेख गर्दै यसलाई नेपाली फिल्म र नेपाली माटोको जित भएको बताएका छन्। डा. कपिल रिजालको निर्देशनमा बनेको ‘गौँथली’ अहिले पनि प्रदर्शनरत छ । प्रदर्शनको सय दिन पूरा गरिसकेको फिल्मले २६ करोड रुपैयाँभन्दा बढी व्यापार गरेको छ। फिल्ममा अरुण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा छन्।









