संगीत । पछिल्लो समय अभिनेत्री सुपुष्पा भट्टको व्यस्तता बढ्दो छ । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘रणवीर’ मार्फत डेब्यु गरेकी सुपुष्पाले त्यसपछि आफुलाई स्थापित गराउने दौडमा छिन् । डेब्यु फिल्मबाट नोटिस भएकी उनि अभिनित दोस्रो फिल्म ‘छ माया छपक्कै’ आउँदो असोज २४ बाट प्रदर्शनमा आउंदैछ । डेब्यु फिल्मपछी नै उनले अनमोल केसीसँग एडमा स्क्रिन शेयर गरिन् ।
यतिबेला उनि ‘चपली हाइट ३’ को छायाँकनको तयारीमा समेत छिन् । फिल्म दसैँ तिहारपछी फ्लोरमा जानेछ । यसैबीच सुपुष्पाले सानो पर्दामा पनि आफ्नो उपस्थिति जनाई रहेकी छिन् । केहि समय अगाडी एक म्युजिक भिडियोमा देखिएकी सुपुष्पा छिटै नै नयाँ म्युजिक भिडियोमा देखिंदैछिन् । केहि दिन अगाडी मात्र एनएफडिसीमा भव्य सेट लगाएर गीतको छायाँकन गरिएको हो ।
‘टिलपिल तारा’ बोलको गीतमा विक्रम जंग शाह र मेलिना राईको स्वर रहेको छ । यसमा सुपुष्पासँगै अजय पुन र रोहण अशिवको पनि अभिनय रहेको छ । गीतलाई संगीता श्रेष्ठले निर्देशन गरेकी छिन् । उनले गीतको भाव अनुसार नै सुपुष्पा फिचर्ड भएको बताइन । टेलिभिजनमा लामो समयको अनुभव संगालेकी संगीताले सुपुष्पाको काम प्रतिको लगनशीलताले भविष्य उज्वल रहेको ठहर गरिन् । गीतमा शिवराम श्रेष्ठको छायाँकन रहेको छ भने लोकेश बज्राचार्यले यसलाई सम्पादन गरेका हुन् ।











