‘रामायण’ ४० भाषामा प्रदर्शन हुने

फिल्म । रणवीर कपुरको मुख्य भूमिका रहेको प्रतीक्षित भारतीय फिल्म ‘रामायण’ विश्वभर ४० भाषामा प्रदर्शन गर्ने तयारी गरिएको छ । निर्माण पक्षले विभिन्न भाषाका दर्शकमाझ फिल्म पुर्‍याउने उद्देश्यसहित व्यापक अन्तर्राष्ट्रिय रिलिजको योजना बनाएको हो ।

मिडिया रिपोर्टका अनुसार विश्वभरका दर्शकले सहज रूपमा फिल्म हेर्न सकून् भन्ने उद्देश्यले ‘रामायण’ लाई करिब ४० भाषामा डब गर्ने योजना बनाइएको छ । यससँगै विभिन्न देशका दर्शकले आफ्नै भाषामा फिल्म हेर्न पाउने छन्। ती भाषामा डबिङ आर्टिस्टले नै डबिङ गर्नेछन् । यद्यपि, फिल्म कुन-कुन भाषामा डब गरिनेछ भन्ने पूर्ण विवरण सार्वजनिक भइसकेको छैन।

निर्माता नमित मल्होत्रा र निर्माण टोलीले ‘रामायण’ लाई भारतीय फिल्म इतिहासकै ठूलो अन्तर्राष्ट्रिय रिलिजमध्ये एक बनाउने लक्ष्य राखेका छन् । यसका लागि फिल्मको विश्वव्यापी प्रचारप्रसारलाई समेत प्राथमिकता दिइएको छ। यसअघि अमेरिकामा आयोजित ‘सिनेमाकन २०२६’ र ‘सान डिएगो कमिक-कन’ जस्ता कार्यक्रममार्फत फिल्मको प्रचार गरिएको जनाइएको छ।

नितेश तिवारीको निर्देशनमा बनेको ‘रामायण’ मा रणवीर कपुर भगवान् रामको भूमिकामा देखिनेछन् भने साई पल्लवीले सीताको भूमिका निर्वाह गरेकी छन्। त्यस्तै, यश रावण र सनी देओल हनुमानको भूमिकामा छन्।

भारतीय पौराणिक कथामा आधारित यो फिल्म दुई भागमा निर्माण गरिएको छ। पहिलो भाग सन् २०२६ नोभेम्बर ५ अर्थात् तिहारको अवसरमा प्रदर्शन गर्ने तयारी छ। दोस्रो भाग भने सन् २०२७ को तिहारमा प्रदर्शनमा आउने जनाइएको छ।

कमेन्ट गर्नुहोस्