सौरभले घोषणा गरे ‘द राइज अफ साम्राज्य’

फिल्म । निर्देशक सौरभ चौधरीको नयाँ फिल्म ‘द राइज अफ साम्राज्य’ औपचारिक रूपमा घोषणा गरिएको छ । डार्क हर्स इन्टरटेन्मेन्टको प्रस्तुतिमा बन्ने फिल्मको निर्माण टिमले सोमबार थिम पोस्टर सार्वजनिक गर्दै शीर्षक घोषणा गरेको हो।

सेलिब्रेटी लेखक बुद्धिसागरको लेखन रहेको फिल्मलाई सौरभ चौधरीले निर्देशन गर्नेछन्। प्रवेश चौधरी र निला देव निर्माता रहेको फिल्ममा विश्वास बस्नेत (बेन) सह-निर्माता तथा शंकर पाण्डे कार्यकारी निर्माता छन्।

सार्वजनिक थिम पोस्टरमा आगोको लप्का, घोडामा सवार पात्र, पुरानो राजसी परिवेश र द्वन्द्वको संकेत गर्ने दृश्य समेटिएका छन्। पोस्टरले ऐतिहासिक वा काल्पनिक साम्राज्यको कथावस्तु झल्काउने संकेत दिएको छ।

एक्सन–ड्रामा जनरामा निर्माण हुने फिल्म नेपाली फिल्म उद्योगकै ठूलो स्केलको ‘एपिक एक्सन ड्रामा’ हुने कार्यकारी निर्माता शंकर पाण्डेको दाबी छ। उनका अनुसार फिल्म लाइनअप र मेकिङ दुवै हिसाबले अहिलेसम्मकै महत्वाकांक्षी परियोजनामध्ये एक हुनेछ।

निर्माण पक्षले निर्देशक, लेखक, निर्माता र प्राविधिक टोली सार्वजनिक गरे पनि कलाकारको लाइनअप भने केही दिनपछि घोषणा गरिने जनाएको छ।

फिल्मको छायांकन भदौको पहिलो साताबाट सुरु हुनेछ। अधिकांश छायांकन पूर्वी नेपालमा हुने र करिब ७० दिनको सुटिङ तालिका तय गरिएको निर्माण टिमले जनाएको छ। मानकृष्ण महर्जन डीओपी, श्री श्रेष्ठ एक्सन निर्देशक, ओएसआर डिजिटल डिजिटल पार्टनर, टौवा स्टुडियो पब्लिसिटी पार्टनर तथा डीसीएन वितरक रहेका छन्।

निर्देशक सौरभ चौधरीले पोस्ट-प्रोडक्सनको कामलाई ध्यानमा राख्दै छायांकन सम्पन्न भएपछि मात्र प्रदर्शन मिति घोषणा गरिने बताएका छन्। उनले फिल्मले नेपाली इतिहासको कुनै विशेष कालखण्ड समेट्ने वा काल्पनिक साम्राज्यको कथा भन्ने विषय भने हाल खुलाएका छैनन्।

कमेन्ट गर्नुहोस्