फिल्म । नेपाली फिल्म ‘होस्टेल ३’को गत शुक्रवार सार्वजनिक भएको ट्रेलरले दर्शकको साथ प्राप्त गरेको छ । रिलिजको ६ घण्टामै युट्युबको ट्रेन्डिङ यात्रा सुरु गरेको ट्रेलरले २१ घण्टामा नै १० लाख भ्युज प्राप्त गरेको थियो भने नेपालमा फिल्म सेक्सनमा पहिलो स्थानमा र करिब १५ वटा देशमा ट्रेन्डिङमा आएको थियो, जुन अहिलेसम्म पनि कायमै छ ।
यो ट्रेलर हाल नेपालको लागि युट्युबको मुख्य ट्रेन्डिङमा तेस्रो स्थानमा रहेको छ । मुख्य ट्रेन्डिङमा रहेका ५० वटा भिडियोहरूमा नेपाली मनोरञ्जनात्मक सामग्री ‘होस्टेल ३’को ट्रेलर मात्र रहेको छ । ट्रेलरले विशेष गरी सबै खाडी मुलुकहरू, युरोपियन देशहरू, बेलायत, जापान, अस्ट्रेलिया तथा कोरियामा यसको उल्लेखनीय प्रभाव देखाएको छ । यस्तै जापान, अस्ट्रेलिया, रोमानिया, माल्टा, मलेसिया, दक्षिण कोरिया तथा बेलायत लगायतका देशमा समेत ट्रेलर ट्रेन्डिङमा रहेको छ ।
यो तथ्याङ्क हेर्दा यस फिल्मको ट्रेलरले नेपालसहित नेपालीहरूको बसोबास रहेका विश्वका विभिन्न देशहरूमा उल्लेख्य प्रभाव छोडेको छ । यसका निर्देशक सशान कँडेलले फिल्मको प्रचारात्मक सामग्रीलाई दर्शकले मन पराएकोमा खुसी व्यक्त गरे । उनले भने,‘ट्रेलरले प्राप्त गरेको अपार मायाले हामीलाई अत्यन्त हौसला प्रदान गरेको छ । ट्रेलरको हाइप अनुसार फिल्म अपेक्षा गरेका दर्शकलाई कुनै हालतमा निराश हुन दिने छैनौँ ।’
फिल्ममा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायत रहेका छन् । अभिनेता प्रवीण खतिवडा वार्डेनको भूमिकामा छन् भने आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ पनि फिल्ममा रहेका छन् ।
यसको कथा माधव शर्माले लेखेका हुन्, जसले एसोसियट निर्देशकको भूमिका पनि निभाएका छन् । यसका निर्माता सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारी हुन् भने सह-निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन् । कार्यकारी निर्माता शङ्कर कोइराला हुन् भने लाइन प्रोड्यूसर कोसिस राज क्षेत्री रहेका छन् ।
फिल्मको छायाङ्कन निर्देशन अर्जुन तिवारीले गरेका छन् भने सम्पादन विकास दाहालले गरेका छन् । यसका एक्सन निर्देशक हिमाल केसी हुन् । सङ्गीतमा अर्जुन पोखरेल, अल्मोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकल छन् । नृत्य निर्देशन प्रवीण सिंह र रोशन विश्वकर्माले गरेका छन् ।










