‘पाँच पाण्डव’ मा भित्रिए सुशील

फिल्म । निर्माणाधीन फिल्म ‘पाँच पाण्डव’मा कलाकार सुशील सिटौलाको प्रवेश भएको छ । हाल छायांकन भइरहेको फिल्ममा उनी मुख्य भूमिकामध्ये एकका रूपमा अनुबन्ध भएका हुन् । फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठका अनुसार सिटौला ‘पाँच पाण्डव’मध्ये एक पात्रको भूमिकामा देखिनेछन् । अब सिटौलाले हरिवंश आचार्यलगायत कलाकारसँग स्क्रिन सेयर गर्नेछन् । यसअघि फिल्ममा अभिनेता प्रशान्त ताम्राकार र कन्टेन्ट क्रिएटर तथा मोडल इभा गिरी पनि अनुबन्ध भइसकेका छन् ।

काली रानी फिल्म्सको ब्यानरमा निर्माण भइरहेको फिल्मको निर्देशन वसन्त निरौलाले गरिरहेका छन् । गत चैत २ गतेदेखि नेपाल-भारत सीमावर्ती सहर काँकडभिट्टा आसपासमा फिल्मको छायांकन भइरहेको छ ।

फिल्ममा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौला मुख्य ‘पाँच पाण्डव’को भूमिकामा देखिनेछन्। साथै दीपाश्री निरौला, सरिता गिरी, बिनोद न्यौपाने र रमा थपलियालगायत कलाकारको पनि महत्वपूर्ण भूमिका रहनेछ। लेखक सुशील पौडेलका अनुसार फिल्म ‘सोसल ड्रामा’ विधामा आधारित छ । उनले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्बलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गरिने बताए।

प्रस्तुतकर्ता नवीन श्रेष्ठले यसअघि गत वर्ष फिल्म ‘लाज शरणम्’ निर्माण गरेका थिए। फिल्मको निर्माण काली रानी श्रेष्ठले गरिरहेकी छन् । फिल्मका अधिकांश दृश्य झापाका विभिन्न रमणीय तथा महत्वपूर्ण स्थानमा खिचिनेछन्। झापाको छायांकन सकिएपछि अन्य स्थानमा छायांकन गरिने निर्देशक निरौलाले जानकारी दिएका छन्।

कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको फिल्मको छायांकन श्याम तामाङले गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्