फिल्म । नेपाली फिल्म ‘बाः एक योद्धा’ को पहिलो पोस्टरमा अभिनेता दिव्यदेव पन्त देखिएका छन् । निर्माण टिमले गत आइतबार पोस्टर सार्वजनिक गर्दै फिल्मका मुख्य पात्र दिव्यलाई चिनाएको हो । सार्वजनिक पोस्टरमा चस्मा लगाएका दिव्य देव गम्भीर र चिन्तित मुद्रामा देखिएका छन् ।
उनसँगै पोस्टरमा अभिनेत्री सुहाना थापा पनि देखिएकी छन् । सामान्य पहिरनमा गाउँले झोला बोकेर हिँडिरहेकी सुहानालाई फिल्ममा ‘बा’की छोरीका रूपमा प्रस्तुत गरिएको संकेत पोस्टरले दिएको छ ।
पोस्टरले अभिनेत्री झरना थापा फिल्ममा दिव्य देवको जोडीका रूपमा रहेको जानकारीसमेत दिएको छ । साथै, झरना थापा र सुहाना थापा आमा-छोरीको भूमिकामा रहेको संकेत पनि पोस्टरबाट मिल्छ । फिल्ममा दिव्य देव, झरना थापा, सुहाना थापा, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा, शवि थापा र अनिल बुढाथोकीको मुख्य अभिनय रहेको छ ।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको फिल्म कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउनेछ । आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मको कथा तथा पटकथा पनि लम्सालले नै लेखेका हुन्।










