फिल्म । अभिनेता पल शाह र प्रदीप खड्का दोस्रो पटक एउटै फिल्ममा देखिने भएका छन्। निर्देशक कृषा चौलागाईंले पल र प्रदीपलाई मुख्य भूमिकामा लिएर नयाँ फिल्म ‘उही तिम्रो’ निर्माण गर्ने भएकी छन्।
केपी फिल्म्स र पुरुषोत्तम फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको फिल्मको आज पूजा गर्दै शुभमुहूर्त गरिएको छ। यसअघि पनि मल्टिस्टारर फिल्म निर्माण गरिसकेको कृषा र विशाल चौलागाईंको टिमले यसपटक पल र प्रदीपलाई एकसाथ पर्दामा उतार्न लागेको हो।
फिल्ममा पल र प्रदीपसँगै अभिनेत्री सिम्रन पन्त मुख्य भूमिकामा देखिनेछिन्। यसै फिल्ममार्फत जुना विश्वकर्माले अभिनयमा डेब्यु गर्दैछिन्। मंसिरबाट म्याग्दीका रमणीय स्थानमा छायांकन सुरु गरिने फिल्मको बाँकी छायांकन काभ्रेको बनेपामा गरिने निर्माण पक्षले जानकारी दिएको छ।
फिल्ममा पल, प्रदीप, सिम्रन र जुनासँगै लक्ष्मी गिरी, राजाराम पौडेल, लक्ष्मीनाथ तिमल्सिना र सुरज तमुलगायत कलाकारको अभिनय रहनेछ। फिल्मको कथा तथा संवाद अभिमन्यु निरविले लेखेका हुन्।
कृषा चौलागाईंको निर्देशन रहने फिल्मलाई पुरुषोत्तम प्रधानले छायांकन गर्नेछन्। विशाल चौलागाईं निर्माता रहेको फिल्मको फाइनान्स म्यानेजरमा सविन ढुङ्गाना र प्रोडक्सन म्यानेजरमा रविन बख्रेल छन्। फिल्ममा सुरेश अधिकारी, राजनराज सिवाकोटी र हर्क साउदको संगीत रहनेछ भने वसन्त अधिकारी मुख्य सहायक निर्देशकका रूपमा रहनेछन्।
आरआर फिल्म्सले वितरण गर्ने फिल्मका वितरक रोहित कट्टेल र रत्न श्रेष्ठ हुन्। फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको निर्देशक कृषाले जानकारी दिएकी छन्। ‘उही तिम्रो’ आगामी नयाँ वर्षमा प्रदर्शनमा आउने तयारीमा छ।









