चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त

फिल्म । मन्त्रिपरिषद् बैठकले मनिष पण्डितलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पण्डितलाई बोर्डको अध्यक्षमा चयन गरेको हो ।

अध्यक्ष पदका लागि ११ जनाले व्यावसायिक कार्ययोजना प्रस्तुत गरेका थिए । तीमध्ये सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पण्डितसहित नरेशकुमार पौडेल र निशा अधिकारीलाई अन्तिम तीन प्रतिस्पर्धीका रूपमा छनोट गरेको थियो ।

पण्डित चलचित्र विकास बोर्डमा बक्सअफिस प्रणाली लागू गर्ने प्रक्रियामा समेत संलग्न थिए । बोर्डकी तत्कालीन अध्यक्ष निकिता पौडेलको कार्यकालमा बक्सअफिस सफ्टवेयर भित्र्याउन उनले भूमिका खेलेका थिए ।

पछिल्लो समय राजनीतिक वृत्तमा समेत चर्चामा रहेका पण्डितले गत निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सहयोग गरेको बताइएको छ । चलचित्र क्षेत्र र राजनीतिक वृत्तसँगको उनको सम्बन्धका कारण बोर्डको नेतृत्वमा उनको नियुक्तिलाई चासोका साथ हेरिएको छ ।

कमेन्ट गर्नुहोस्