सङ्गीत । अभिनेत्री सरिता लामिछानेले नजिकिँदो तिहारलाई लक्षित गर्दै अमेरिकामा देउसी-भैलोसहितको सांस्कृतिक कार्यक्रम आयोजना गरेकी छन्। उनीद्वारा सञ्चालित एभरेस्ट कला केन्द्र, युएसएले हालै अमेरिकाको ओहायो राज्यस्थित रेनल्सबर्गको वेलकम इभेन्ट सेन्टरमा दीपावली, देउसी-भैलो तथा छठ विशेष कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा बालिकाहरूले नेपाली मौलिक नृत्य तथा देउसी–भैलु प्रस्तुत गरेका थिए। ज्येष्ठ नागरिकलाई सम्मानसमेत गरिएको कार्यक्रममा नेपाली समुदायका अभिभावक, बालबालिका तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो। गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको ओहायो च्याप्टरका अध्यक्ष विजय बुढाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गायक तथा कलाकार बाबु बोगटीले सांगीतिक प्रस्तुति दिएका थिए।
नेपाली फिल्म तथा टेलिभिजन क्षेत्रमा करिब २५ वर्ष बिताएकी लामिछाने अहिले अमेरिकामा नेपाली कला र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्ने अभियानमा सक्रिय छिन्। नेपालबाट अमेरिका बसाइँ सरेपछि पनि कलाकारितासँगको उनको सम्बन्ध टुटेको छैन। बरु कलाकारिताप्रतिको लगावले नयाँ सिर्जनात्मक यात्राको रूप लिएको छ, एभरेस्ट कला केन्द्र, युएसए।
लामिछानेले सन् २०२५ जुनमा अमेरिकाको ओहायो राज्यस्थित रेनल्सबर्गमा स्थापना गरेको केन्द्र ‘नेपाली कला र संस्कृतिको उत्थान, हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ सञ्चालनमा छ। अहिले केन्द्रमा नेपाली समुदायका सयभन्दा बढी बालबालिका नृत्य तथा सांस्कृतिक प्रशिक्षणमा सहभागी छन्। उल्लेखनीय पक्ष के छ भने केन्द्रका सबै विद्यार्थी बालिका छन्। नेपाली मौलिक नृत्यप्रति उनीहरूको आकर्षण केन्द्रको विशेष पहिचान बनेको छ।
विदेशमा बसाइँ सर्दा कलाकारको सोच र सपना पनि सँगै आउने लामिछानेको अनुभव छ। नयाँ देश र परिवेशमा पुगेपछि पनि आफूभित्रको कलाकारलाई जीवित राख्ने, नेपाली समुदायका बालबालिकालाई मौलिक कला र संस्कृतिसँग परिचित गराउने तथा आफ्नो सिर्जनशीलतालाई निरन्तरता दिने चाहनाले कला केन्द्र स्थापनाको प्रेरणा दिएको उनी बताउँछिन्। उनका लागि एभरेस्ट कला केन्द्र नृत्य सिकाउने संस्था मात्र नभई कलाकारिताप्रतिको लगाव र सांस्कृतिक जिम्मेवारीलाई निरन्तरता दिने माध्यम पनि हो।
नेपालमा फिल्म तथा टेलिभिजन अभिनयबाट आफ्नो छुट्टै परिचय बनाएकी लामिछानेले कला क्षेत्रमा आर्जन गरेको अनुभव अहिले बालबालिकाको प्रशिक्षणमा उपयोग गरिरहेकी छन्। नेपाली गीत–संगीत, मौलिक नृत्य र सांस्कृतिक अवसरमा हुने प्रस्तुतिमार्फत नयाँ पुस्तालाई आफ्नो समुदायको पहिचान बुझाउने उनको प्रयास छ।
कला केन्द्रमा नृत्य अभ्याससँगै अनुशासन, समयपालन, जिम्मेवारी, आपसी सम्मान र मञ्चमा प्रस्तुत हुने आत्मविश्वासलाई पनि महत्त्व दिइँदै आएको छ। केन्द्रका आफ्नै नियम रहेको र विद्यार्थीले उत्साहपूर्वक ती नियम पालना गर्दै सिकिरहेको लामिछाने बताउँछिन्। दर्शकसामु कसरी प्रवेश गर्ने, आफ्नो प्रस्तुति आत्मविश्वासका साथ कसरी दिने र समूहमा मिलेर कसरी काम गर्ने भन्ने सीप पनि प्रशिक्षणको हिस्सा हुन्।
उनको लक्ष्य नृत्य जान्ने विद्यार्थी तयार गर्नुमा मात्र सीमित छैन। एभरेस्ट कला केन्द्रबाट बाहिरिँदा बालबालिकाले राम्रो संस्कार, अनुशासन, आत्मविश्वास र नेपाली सांस्कृतिक पहिचानप्रति गर्व गर्ने वातावरण बनोस् भन्ने उनको चाहना छ। अभिभावकले पनि आफ्ना बालबालिकाको कलात्मक सीपसँगै व्यवहार र व्यक्तित्वमा सकारात्मक विकास अनुभव गर्न सकून् भन्ने उनको अपेक्षा छ।
लामिछानेले निकट भविष्यमै केन्द्रमा नेपाली भाषाको कक्षा सञ्चालन गर्ने योजना बनाएकी छन्। विदेशमा हुर्किरहेका नेपाली समुदायका बालबालिकालाई रमाइलो तरिकाले नेपाली भाषा सिकाउने उनको सोच छ। भाषा बुझ्ने र बोल्ने क्षमता विकास भएपछि अभिनय, संवाद, अभिव्यक्ति तथा मञ्च प्रस्तुतिसम्बन्धी प्रशिक्षण पनि विस्तार गर्ने योजना रहेको उनले बताइन्।
आफ्नो अभिनय अनुभव बालबालिकासँग बाँड्न चाहने लामिछानेले भाषा तथा अभिनयका कक्षाले विद्यार्थीको बोल्ने क्षमता, प्रस्तुति कौशल र आत्मविश्वास अभिवृद्धि गर्ने विश्वास लिएकी छन्। यद्यपि, यी कक्षा हाल सञ्चालनमा आइसकेका नभई आगामी दिनमा सुरु गर्ने प्रस्तावित योजना हुन्।
छोटो अवधिमै सयभन्दा बढी बालिकालाई सहभागी गराउन सफल केन्द्रले विदेशमा नेपाली सांस्कृतिक शिक्षाप्रतिको रुचिलाई उजागर गरेको छ। लामिछानेका लागि यो यात्राको मूल उद्देश्य कलाकारितालाई निरन्तरता दिनु र नयाँ पुस्तासम्म नेपाली भाषा, संस्कार तथा सांस्कृतिक पहिचान पुर्याउनु हो। उनको परिकल्पनामा एभरेस्ट कला केन्द्र भविष्यमा नृत्य, नेपाली भाषा, अभिनय र व्यक्तित्व विकासलाई जोड्ने सिर्जनात्मक सिकाइस्थल बन्नेछ।









