‘कलात्मक र व्यसायिक फिल्मको मिश्रण हो महापुरुष’ : अभिनेता आचार्य

फिल्म । अभिनेता हरिवंश आचार्यले कोरोना भाइरसको महामारी पश्चात नेपाली फिल्मबजार बढी नै उतारचढाव देखिएको बताउनु भएको छ । उहाँ अभिनित फिल्म ‘महापुरुष’ को दोस्रो गीत ‘बेमौसमी’ सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै अभिनेता आचार्यले केही फिल्म रेकर्ड बनाउने गरी सफल भएको र केहीले भने अपेक्षा भन्दा निकै कम व्यापार गरेको बताउनु भयो । अहिले आर्ट र कमर्सियल भ्यालु बोकेको फिल्म बजारमा दर्शकले पर्खिरहनु भएको विचार राख्दै त्यो ‘महापुरुष’ रहेको बताउनु भयो ।

‘अहिले दर्शकले आर्ट र कमर्सियल दुवै भएको फिल्म हेर्न खोज्नु भएको छ । महापुरुषमा यी दुवैको मिश्रण छ । यहाँ कमर्सियल भ्यालु राखेर आर्टमा अब्बल फिल्म बनाइएको छ’ उहाँले भन्नुभयो । नेपाली फिल्मको बढ्दो बजारलाई यसले अझैँ फाईदा पुर्याउने उहाँले बताउनु भयो । केही समय यता आर्ट भ्यालु बढी भएका फिल्ममा दर्शकको उपस्थिति कम देखिएको छ । चिसो मान्छे , दोख , पानीफोटो , प्रकाश , राधा यसको उदाहरण हुन् । उल्लेखित फिल्महरु विभिन्न नेपाली समयलाई दर्शाउने भएता पनि दर्शकले हलसम्म पुगेर हेर्ने जाँगर चलाउनु भएन ।

बजेटको हिसाबले पनि २ करोडको हाराहारीमा बनेर हलसम्म पुगेको फिल्महरु लगातार असफल भएपछि यसको कारण मनोरंजनको मात्रा कम भएको विश्लेषण गरिएको छ । यद्दपि पुरानी मेकिङ शैलीमा स्वर्गीय साहित्यकार भीमनिधि तिवारीद्वारा लिखित कृति ‘झिँगेदाउ’ मा आधारित सोही नामको फिल्मलाई दर्शकले रुचाउनु भएको छ । यसले पनि बजारको चाहनालाई बुझन मेकर्सलाई मदत गरेको छ ।

अभिनेता आचार्यले पूर्ण रुपमा व्यसायिक कलात्मक फिल्म ‘महापुरुष’ रहेको बताउनु भयो । ‘यसपटक स्क्रिप्ट झनै मेहनत गरेको पाएँ । यो टिमले निर्माण गर्नुभएको अघिल्लो फिल्महरुको तुलनामा यो उत्कृष्ट छ’ उहाँले भन्नुभयो । उहाँले फिल्मको निर्देशक प्रदीप भट्टराईसँग टेलीफिल्म हुँदै शत्रु गतेमा पनि काम गरिसक्नु भएको छ । मह जोडीकै टेलीफिल्महरु मार्फत मुख्य सहायक निर्देशक हुँदै निर्देशक बन्नुभएका भट्टराई अझै परिपक्क भएको अभिनेता आचार्यको बुझाई छ ।

‘उहाँको स्क्रिप्ट चयनबाट म प्रभावित छु । बजारले खोजिरहेको विषयवस्तुलाई सरल रुपमा प्रस्तुत गर्ने खुबी तारिफयोग्य छ’ अभिनेता आचार्यले भन्नुभयो । जात्रा , शत्रु गते र जात्रै जात्राको सफलताले आफू लगायत टिममा दायित्व थपिएको निर्देशक भट्टराईले बताउनु भयो । ‘हामीलाई दर्शकले गर्नुहुने विश्वाशले थप जिम्मेवार बनाएको छ । यसपटक हामीले समाजको गम्भीर विषयलाई सरल तरिकाले देखाउने कोसिश गरेका छौँ । समाजमा विधमान सोचलाई भत्काउने प्रयाश हाम्रो हो’ उहाँले भन्नुभयो ।

‘लोभी पापी’ पश्चात दोस्रो पटक अभिनेता आचार्यसँग स्क्रिन सेयर गर्न पाउँदा अभिनेत्री गौरी मल्ल खुसी हुनहुन्छ । ‘यो टिमले मलाई अहिलेको मेकिङ शैलीसँग नजिकबाट साक्षात्कार गरायो । हरिदाईको जोडी बनेर देखिन पाउँदा खुसी छु । हामीले नजरअन्दाज गरिरहेको गम्भीर विषयलाई रमाइलो शैलीमा प्रस्तुत गरिएको छ’ अभिनेत्री मल्लले भन्नुभयो । यसै फिल्मबाट अरुण क्षेत्री र अन्जना बराईली डेब्यु गर्दैहुनहुन्छ ।

मह जोडीसँग डेब्यु गर्न पाउँदा अरुण निकै उत्साहित हुनहुन्छ । ‘म जापान छाडेर यहाँ अभिनयमा आफ्नो भविष्य बनाउन प्रयाशरत थिएँ । उहाँहरुसँग जोडिएर पाईला टेक्न पाउँदाको खुसी शब्दमा व्यक्त्त गर्न सकिदैन । डेब्यु फिल्ममै मैले उहाँहरुबाट धेरै सिकेको छु’ अरुणले भन्नुभयो । डेब्यु अभिनेत्री अन्जनाले आफ्नो लागि स्कुलिङ भएको बताउनु भयो । ‘यो टिमले मलाई यस उद्योगमा प्रवेश गर्दा धेरै सिकाएको छ । यो मेरो लागि फिल्म क्षेत्रमा आउनु अगाडीको स्कुल झैँ भएको छ’ उहाँले भन्नुभयो । फिल्म ‘महापुरूष’ आउँदो कार्तिक ११ अर्थात् भाइटीकाको भोलिपल्ट प्रदर्शन हुँदैछ । सामाजिक विषयवस्तुमा आधारित ड्रामामा मदनकृष्ण श्रेष्ठ , रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, पण्डित प्रज्वल लुइँटेल लगायतले पनि अभिनय गर्नुभएको छ ।

यसमा निर्देशक भट्टराईकै लेखन रहेको छ । षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्माण भएको फिल्ममा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुनहुन्छ। फिल्ममा दीपक बज्राचार्यले छायांकन , मित्र डी. गुरुङले सम्पादन गर्नुभएको छ। यही फिल्मबाट कवि नवराज पराजुलीले गीतकारको रुपमा फिल्ममा डेब्यु गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस्