खोप यसै साता आउने ?

देश । अन्ततः कोरोना भाइरस विरुद्धको खोप नेपाल आउने भएको छ । भारतले नेपाललाई सहयोगको रुपमा दिन लागेको खोप सम्भवतः बिहीबार नै काठमाडौं आइपुग्ने पक्कापक्की भएको खबर कान्तिपुर दैनिकमा छ । यसबारे थप जानकारी दिन बुधबार दिउँसो स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी तथा भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त पत्रकार सम्मेलन गर्ने बताईएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले बुधबार स्वास्थ्यमन्त्री र भारतीय राजदूतले संयुक्त पत्रकार सम्मेलन गरेर घोषणा गर्ने सूचनाको पुष्टि गरे ।

उनले भारत सरकारले दिने भनेको खोप २६ जनवरी भन्दा अगावै नेपाल समेत प्रस्ट्याएका छन् । भारतको पुणेस्थित सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) द्वारा उत्पादित ‘कोभिसिल्ड’ खोप भारत सरकारले उपहार स्वरुप नेपाललाई दिन लागेको हो । भारतीय विदेश मन्त्रालयले मंगलबार जारी गरेको प्रेस विज्ञप्तीमा पनि नेपाललगायत छिमेकी देशहरु बंगालादेश, भूटान, माल्दिभ्स, म्यानमार, सेसेल्सलाई बुधबारदेखि कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन लागिएको उल्लेख छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालय तथा बेलायती औषधि निर्माता कम्पनीले संयुक्त रुपमा विकास गरेको ‘एजेडडी१२२२’ नामक खोपलाई भारतको एसआईआईले ‘कोभिसिल्ड’को नाममा उत्पादन गरेको हो ।

औषधि व्यवस्था विभाग (डीडीए)ले ‘कोभिशील्ड’लाई गत शुक्रबार नै आपत्कालिन प्रयोगका लागि सशर्त अनुमति प्रदान गरिसकेको छ । भारतबाट प्राप्त हुन लागेको यो खोपलाई २ देखि ८ डिग्री सेल्सियस तापक्रममा ६ महिनासम्म भण्डारण गर्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्