‘बाटुलो जून’ ले गर्यो आक्रामक सुरुआत

फिल्म । आजदेखि प्रदर्शन भएको अनमोल केसीको फिल्म ‘बाटुलो जून’ ले आक्रामक सुरुआत गरेको छ । फिल्मले प्रदर्शनको पहिलो दिन नै एक करोड २० लाख रुपैयाँभन्दा बढी कमाइ गर्ने प्रक्षेपण गरिएको छ ।

भुवन केसीले निर्माण गरेको यो फिल्मले देशभरका हलमा २ सय ६५ शो पाएको छ । बिहानका शो हाउसफुल भएका छन् । राति ८-९ बजेको शोमा समेत अकुपेन्सी उच्च देखिएको छ । धेरैजसो शोका सिट भरिभराउ छन् ।

पहिलो दिनको कमाइका हिसाबले अनमोलको यस फिल्मले उनका अघिल्ला फिल्मको रेकर्ड तोडेको बताइएको छ । यो अनमोलको १२औँ फिल्म हो। फिल्मले वि.सं. २०४० को दशकको प्रेमकथा भन्छ । यसपटक अनमोलको नयाँ अभिनेत्रीका रूपमा प्रिन्सी खतिवडा भित्रिएकी छिन् ।

सनराइज पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता जिया केसी र भविष्य खड्का हुन् भने विवेक थापा सहनिर्माता हुन्। सामीप्यराज तिमल्सेना र सरिन पोखरेलको पटकथा रहेको फिल्ममा अनमोल र प्रिन्सीसँगै भुवन केसी, न्यान्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शारदा गिरी, लक्ष्मीनाथ तिमिल्सिना र शिशिर शिवाकोटीलगायतको अभिनय छ।

कमेन्ट गर्नुहोस्