‘किस्ने कहाँ छ ?’ नामक फिल्म बन्दै

फिल्म । नेपाली फिल्म उद्योगमा नयाँ फिल्महरूको निर्माण तीव्र गतिमा अघि बढिरहेको छ । लगभग दैनिकजसो नयाँ फिल्मको घोषणा भइरहेका बेला निर्देशक राजेन्द्र बस्नेतको निर्देशनमा कमेडी जनराको नयाँ फिल्म ‘किस्ने कहाँ छ ?’ को औपचारिक घोषणा भएको छ । फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले यो घोषणा गरेको हो ।

थिम पोस्टरमा एउटा गाडी हिलाम्य बाटोमा रोकिएको र बाटोमा काम गरिरहेको व्यक्तिसँग कुराकानी भइरहेको दृश्य देखिन्छ, जसले फिल्मको कथावस्तुप्रति कौतूहल जगाउँछ । फिल्मको कथा, पटकथा र संवाद विनय राज पौडेलले लेखेका छन् । ग्रीन प्यारोट्स फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण हुने यो फिल्ममा हेमन्त बस्नेतको लगानी छ भने कार्यकारी निर्माता इश्वर वल्लव उप्रेती छन् ।

निर्देशक बस्नेतका अनुसार फिल्मको छायांकन छिट्टै सुरु हुनेछ । यद्यपि, कलाकार छनोटको प्रक्रिया जारी रहेको र कलाकारहरूको टुंगो अझै लागिनसकेको निर्माण टिमले जनाएको छ । कमेडी जनरामा आधारित ‘किस्ने कहाँ छ ?’ ले नेपाली समाजको गहिरो चित्रण गर्ने अपेक्षा गरिएको छ । पछिल्लो समय नेपाली फिल्म उद्योगमा कमेडी विधाले बलियो स्थान बनाइरहेको सन्दर्भमा यो फिल्मले पनि सोही धारलाई निरन्तरता दिँदै दर्शकको मन जित्ने विश्वास निर्माण टिमले लिएको छ ।

कमेन्ट गर्नुहोस्