
फिल्म । निर्देशक मिलन चाम्सले विवाह संस्कृति र परम्परालाई मुख्य विषयवस्तु बनाएर फिल्म ‘वर एण्ड वधु’ तयार गरेका छन् । सो फिल्ममा समावेश ‘तिमी सँग’ बोलको गीतको श्रव्यदृश्य सार्वजनिक गर्दै निर्देशक चाम्सले विवाहको महत्व र परिवारसँगको सम्बन्ध प्रस्तुत गरिएको बताए ।
‘पछिल्लो समय विवाहलाई लिएर नयाँ पुस्तामा बनेको धारणा र परम्परा, पारिवारिक महत्वलाई फिल्म भित्र प्रस्तुत गरेको छु । साथै,प्रवासी नेपालीको जीवन र प्रेममा आउने उतारचढावलाई यसमा समावेश गरिएको छ’, उनले भने ।
नेपाल र रोमानियामा गरिएको फिल्मको छायांकनले दर्शकको आँखालाई शितलता प्रदान गर्ने उनले बताए । अभिनेत्री आँचल शर्माले यसमा आफूले चुलबुले र आत्मविश्वासी युवतीको भूमिका निर्वाह गरेको जानकारी दिईन् ।
‘विदेशमा छायाङ्कन सहज हुँदैन, यद्यपि हामीले दर्शकको आँखालाई शितलता दिने दृश्यलाई समावेश गर्ने कोसिश गरेका छौँ । विषयवस्तुसँग युवापुस्ता जोडिनु हुन्छ भन्नेमा विश्वस्त छु’, उनले भनिन् ।

यसै फिल्ममार्फत डेब्यु गर्न लागेका नव अभिनेता विवेक कर्मचार्यले आफूले सक्दो मेहनत गरेको बताए । ‘पहिलो फिल्ममा सबैको साथले काम गरेको छु । मैले हरेक दृश्यमा शत प्रतिशत मेहनत गरेको छु । यो मेरो लाही सिकाई पनि बनेको छ, अवसरका लागि कृतज्ञ छु’, उनले भने ।
फिल्ममा विजय लामा, गरिमा शर्मा, किरण केसी, सरिता लामिछाने, कुसुम शर्मा, श्रृष्टी खड्का, हिमेश पन्त, यमन श्रेष्ठ, लगयतका कलाकारले पनि अभिनय गरेका छन् ।
यसमा मिलन श्रेष्ठले सम्पादन, हिमाल केसीले द्वन्द्व निर्देशन,प्रदीप भारद्धाजले कथा लेखन र सुस्मिता वाईवाले नृत्य निर्देशन गरेका हुन् । भदौ १४ गतेबाट प्रदर्शन हुने ‘वर एण्ड वधु’लाई काठमाडौँ उपत्यकामा रिच इन्टरटेन्मेन्टले वितरण गर्दैछ ।
