फिल्म । अञ्जान सिनेमा प्रोडक्सन हाउसको ब्यानरमा फिल्म ‘शिवांश’ निर्माण औपचारिक रूपमा घोषणा गरिएको छ । निर्माणपक्षले बुधबार फस्टलुक सार्वजनिक गर्दै ‘शिवाशं: च्याप्टर १’ निर्माणको घोषणा गरेको हो । सन्तोष कुमार आत्रेयले निर्देशन गर्ने फिल्ममा प्रवीण खतिवडा, तेज गिरी, रुषा न्यौपाने, विकास जोशी, विमला लिम्बु, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टिका निरौला लगायत कलाकारहरूको अभिनय रहनेछ ।
अञ्जान केसीको कथा तथा लागतमा तयार हुने फिल्म ‘शिवांश’ मा सह-निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन् । पटकथा भने बारत लिम्बुले तयार पारेका छन् ।सार्वजनिक पोस्टरमा प्रमुख अभिनेता खतिवडा फलामको साङ्लोले बाँधिएको अवस्थामा देखिएका छन् । अनुहारको आधा भाग मात्र देखिएको उक्त दृश्यमा उनी विरोधीको नियन्त्रणमा परेका छन् भन्ने आभास हुन्छ । पोस्टरमा एक व्यक्तिको अगाडि सिंगो गाउँमा आगो लागेको दृश्य देखिन्छ, जसले फिल्म शक्ति संघर्षमा आधारित रहेको संकेत गर्दछ ।
यसमा न्हू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत रहनेछ । गीत लेखनमा राजनराज शिवाकोटी र विप्लव प्रतीक छन् । स्वर राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको रहनेछ ।
यसमा मिलन श्रेष्ठको द्वन्द्व निर्देशन, विक्रम चोहानको नृत्य निर्देशन, विराज खड्काको भीएफएक्स तथा सुपरभाइजर, आदेश सुब्बाको भीएफएक्स प्रोड्युस कमल मिश्रको कस्ट्युम, तुलसा लिम्बूको शृंगार, सरद महतोको छायांकन रहनेछ । स्क्रिप्ट डक्टरको रूपमा सुलक्षण भारती, कार्यकारी निर्माता सम्भू थापा छन् ।‘शिवांश: च्याप्टर १’ आउँदो असोज २४ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा छ ।












