फिल्म । ‘सक्किगोनि’ मार्फत दर्शक माँझ चर्चित भएका जिग्री पाँडे समुहले फिल्म निर्माण घोषणा गरेका छन् । आज काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै ‘लाज शरणम्’को औपचारिक निर्माण घोषणा गरिएको हो । कार्यक्रममा बरिष्ठ हास्य कलाकर हरिवंश आचार्य, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, निर्देशक प्रदीप भट्टराई, केदार घिमिरे, निर्मल शर्मा, दीपक आचार्य, सोम धिताल, ओम प्रकाश अग्रवाल र वितरक मनोज राठी लगायतको उपस्थिति रहेको थियो ।
फिल्ममा नयाँ पुस्ताको आगमनलाई स्वागत गर्दै अभिनेता आचार्यले सानो पर्दा नै आझ ठूलो पर्दाको गौरवका रुपमा चिनिएको बताए । उनले भने,‘पहिला ठूलो पर्दा र सानो पर्दालाई विभेद गरिथ्यो । तर, अहिले ठूलो पर्दामा सगल भएका फिल्मको लिस्टमा सानो पर्दाबाट आएका कै वर्चश्व देख्दा खुसी लाग्छ । मेहनतले नै सफल बनाउँछ, त्यसैले मेहनत गर्न छाड्नु हुदैन । यो नयाँ समूहलाई फिल्ममा स्वागत छ ।’
अभिनेतासँगै निर्देशक रहेका कुमार कट्टेलले अघिल्ला पुस्ताबाट सिक्दै फिल्मसम्मको यात्रा तय गरेको बताए । ‘हामी टेलीसिरियल हुँदै यहाँसम्म आइपुग्ने बाटो बनाइदिनु हुने सम्पूर्ण अग्रज प्रति कृतज्ञ छौं । हाम्रो सिरियलको अनुभवलाई फिल्ममा प्रयोग गर्ने छौं”,निर्देशक कट्टेलले भने ।
कार्यक्रममा हास्य टेली सिरियललाई दर्शकसम्म पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउदै मिडिया हबका सञ्चालक सोम धिताललाई कदर-पत्र र दोसल्ला सहित सम्मान गरिएको थियो । नवीन श्रेष्ठ निर्माता र राम नरेश शाह सह-निर्माताको रुपमा रहेको फिल्ममा निर्देशक कट्टेलसँगै अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले) कमलमणी नेपाल (खुपीका बाउ), माला लिम्बु, विजय बराल र मुकुन्द श्रेष्ठको मुख्य भुमिका रहनेछ ।
यही वर्षको फागुन १४ अर्थात् महाशिवरात्रीको अवसर पारेर सिनेमा प्रदर्शन ल्याउने फिल्मलाई निर्देशकद्वय दीपाश्री निरौला र प्रदीप भट्टराईले सफलताको कामनासहित शुभकामना दिएका थिए ।











