‘माग सम्बोधन नभए दिमाग खराबको प्रदर्शन रोक्छौँ’ : निश्चल

फिल्म । प्रदर्शनरत फिल्म ‘दिमाग खराब’ आउँदो शक्रबारबाट प्रदर्शनमा निरन्तरता पाउने सम्भावना कम भएको छ । हलहरुले कम शो दिएको भन्दै निर्देशक तथा निर्माता प्रदर्शन रोक्ने घोषणा गरे । विदेशी फिल्म झैँ बराबर शो र हलले प्रदर्शन हुँदासम्म ५० प्रतिशत शेयर उपलब्ध नगराए शुक्रबारबाट प्रदर्शन रोक्ने घोषणा निर्देशक बस्नेतले गरेका हुन् ।

‘वर्डअफ माउथका कारण दर्शक हलमा आइरहनु भएता पनि कम शोमा चित्त बुझाउनुपर्ने ? हामीले उचित र सान्दर्भिक दुई माग राखेका छौँ । त्यो पुरा नहुँदासम्म प्रदर्शन गर्दैनौं । बरु वैकिल्पक विधिबाट फिल्म देखाउँछौं’,निर्देशक बस्नेतले भने ।

उनका अनुसार, अहिले विदेशी फिल्मले १० वटा शो पाउँदा ‘दिमाग खराब’ले ३ देखि ४ वटा मात्रै पाएको छ । नेपाली चलचित्रलाई हलहरुले प्राथमिकता नदिएकाले यो निर्णय लिन बाध्य हुनुपरेको उनले प्रस्ट्याए ।

‘कसैलाई निहुँ खोज्न, रिस राखेर यो गरेको होइन । सबैले व्यापार गरेपछि राम्रो फल आओस् भन्ने आशा गर्नु हुन्छ, त्यति मात्र गरेको हो’, निर्देशक बस्नेतले भने,‘चुनौती लिएरै यो निर्णय गरेका छौं । यसले नेपाली फिल्मको राम्रो नै गर्छ ।’ वर्ड अफ माउथ राम्रो भएपछि हल भरिँदै गएको, तर शो घट्दै गएको हुँदा यस्तो बोल्ड डिसिजन लिन बाध्य भएको निर्देशक बस्नेतले बताए । यसअगाडि ‘द सेक्रेट्स अफ राधा’ र ‘बुलाकी’ फिल्मका निर्माताले पनि शो संख्यामा विभेद गरिएको भन्दै एकसाता नपुग्दै प्रदर्शन रोकेका थिए ।

सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको फिल्ममा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ ।

निर्देशक निश्चल बस्नेत र अभिनेत्री सुपुष्पा भट्ट पनि सिनेमाको एक गीतमा विशेष भुमिकामा देखिएका छन् । आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको फिल्म राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो । फिल्ममा रौनक विक्रम कडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन् । यसमा सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ ।

कमेन्ट गर्नुहोस्