संगीत । लामो समयदेखि अष्ट्रेलियामा बसोबास गर्दै आइरहेका गायक राज के गोस्वामी आफ्नो बिल्कुलै नयाँ शैलीको गीतमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । गायक गोस्वामी यसपटक ‘हिमालै राम्रो हिउँले’ बोलको गीतमार्फत दर्शक तथा स्रोतामाझ आएका हुन् । ‘कोशिश–२’ शीर्षकको एल्बममा समावेश भएको यो गीतलाई विक्रम थापाले संगीतबद्ध गरेका छन् भने सुमन कुँवर यो गीतका रचनाकार हुन् ।
सन्दिप कार्कीले प्रस्तुत गीतमा संगीत संयोजन गरेका छन् । गीतको भिडियोमा नौलो प्रयोग गरिएको छ । गीतलाई पूर्ण रुपले भिएफएक्स प्रविधिमा तयार पारिएको छ । भिडियोमा बिजेश पौडेल तथा पूजा धामीलाई भिएफएक्समार्फत नै प्रस्तुत गरिएको छ । भिडियोलाई बिजेश पौडेलले नै निर्देशन गरेका छन् भने भिएफएक्स तथा सम्पादन पनि उनैले गरेका हुन् । निशा पौडेलद्वारा छायांकन गरिएको उक्त भिडियोलाई नेपाली टचले प्रस्तुत गरेको हो ।










