फिल्म । ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगरको निर्देशनमा बनेको फिल्म ‘जलाकी’को अग्रिम टिकट बुकिङ खुलेको छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स, आईएनआई सिनेमाज र वान सिनेमाजलगायतले बुधबारदेखि फिल्मको अग्रिम बुकिङ खुलाएका हुन् । क्यूएफएक्सले प्रारम्भिक रूपमा उपत्यका र उपत्यकाबाहिर गरी फिल्मलाई २७ शो उपलब्ध गराएको छ। अन्य हलहरूले भने टिकट बुकिङ खुलाउन बाँकी छ ।
फिल्मले मंगलबार केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) बाट युनिभर्सल सर्टिफिकेट पाएको छ। सेन्सरका सदस्यहरूले समेत फिल्म उत्कृष्ट बनेको प्रतिक्रिया दिएको निर्देशक मगरले बताएका छन्। टिजर, ट्रेलर र गीतमार्फत दर्शकमाझ राम्रो चर्चा बटुलेको ‘जलाकी’ले प्रदर्शनपछि पनि दर्शकको उत्तिकै साथ पाउनेमा निर्देशक मगर विश्वस्त छन्।
निर्देशक अशोक थापा मगरको यो दोस्रो फिल्म हो। यसअघि उनले ‘खुस्मा’ निर्देशन गरेका थिए। ‘जलाकी’मा उपासना सिंह ठकुरी र सोनम तोप्देन मुख्य भूमिकामा छन्।
उनीहरूसँगै फिल्ममा शिल्पा मास्के, साहारा हाङ्मा लिम्बू, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्गी, खड्कबहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर र दुइसाङ थिनको अभिनय छ। विशेष भूमिकामा क्याप्टेन विजय लामा देखिनेछन्। त्यस्तै, बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनहा मगर छन्।
एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्मातामा ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी छन्।









