प्रतीक्षाको प्रेमकथा हो ‘जलाकी’ : उपासना

फिल्म । कसैको पर्खाइमा बितिरहेको जीवन र छुटेका मान्छेको सम्झना कति गहिरो हुन्छ ? यही संवेदनशील प्रश्नको जवाफ खोज्दै अभिनेत्री उपासना सिंह ठकुरी आफ्नो नयाँ फिल्म ‘जलाकी’मार्फत दर्शकमाझ आउने तयारीमा छिन् । आगामी मंसिर ४ गतेदेखि देशभर प्रदर्शनमा आउने फिल्ममा उनी ‘लिसारा’ नामक मुख्य पात्रको भूमिकामा देखिँदैछिन् ।

सुदूरपश्चिमको दार्चुलामा जन्मिएकी उपासनाको अभिनय यात्रा आकर्षक छ । विसं २०७५ सालमा फिल्म ‘क्याप्टेन’बाट रजतपटमा डेब्यु गरेकी उनले पहिलो फिल्मबाटै दर्शकको ध्यान खिचेकी थिइन् । त्यसपछि ‘कबड्डी कबड्डी कबड्डी’मा गरेको अभिनयले उनलाई थप चर्चामा ल्यायो ।

त्यसयता ‘डिसेम्बर फल्स’, ‘दुई नम्बरी’, ‘हात्तीछाप’, ‘खुस्मा’, ‘के घर के डेरा : घर नं. २’, ‘कर्मा’ र ‘माइतीघर’ लगायत फिल्ममा उनले फरक-फरक पात्र निर्वाह गरेकी छन् । विशेषगरी द्वन्द्वकालीन प्रेमकथामा आधारित फिल्म ‘खुस्मा’ले उपासनाको करियरलाई नयाँ उचाइ दियो । उक्त फिल्ममा गरेको सशक्त अभिनयका लागि उनले राष्ट्रिय चलचित्र पुरस्कारसमेत प्राप्त गरिन् ।

‘जलाकी’ उपासनाका लागि अर्को फिल्ममा काम गर्ने अवसर मात्र नभई ‘खुस्मा’का निर्देशक अशोक थापा मगर र पुरानै टिमसँगको भावनात्मक पुनर्मिलन पनि हो । एउटै टिमसँग दोस्रोपटक काम गर्दा सेटमा परिवारसँगै रहेजस्तो आत्मीय महसुस भएको उनी बताउँछिन् । ‘जलाकी’मा काम गर्ने क्रममा मगर समुदायको संस्कृति र महिलाप्रति गरिने सम्मानबाट आफू निकै प्रभावित भएको उपासनाको भनाइ छ ।

फिल्ममा उपासनाको जोडी गायक तथा कलाकार सोनम तोप्देनसँग बाँधिएको छ । उनीहरूको कथा कलेज जीवनमा विकसित हुने अव्यक्त र एकतर्फी प्रेममा आधारित छ ।

त्यसो भए ‘जलाकी’को अर्थ के हो त ? उपासना भन्छिन्, ‘जलाकीको अर्थ मगर समुदायमा कसैको सम्झनामा बनाइने ढुङ्गाको स्तम्भ हो।’ उनका अनुसार फिल्मले मगर समुदायको आस्था, सम्झना र मायाको प्रतीकका रूपमा बनाइने यही स्तम्भको भाव बोकेको छ।

उपासनाका अनुसार फिल्ममा प्रेमकथासँगै प्रेमको फराकिलो अर्थलाई पनि समेटिएको छ। उनी भन्छिन्, ‘प्रेम भन्नेबित्तिकै हामी प्रेमी-प्रेमिकाबीचको सम्बन्ध मात्र सम्झिन्छौँ। तर आमाबुबा र छोराछोरीबीचको माया, छुटेका मान्छेको सम्झना र कसैको प्रतीक्षामा बितिरहेको जीवन पनि प्रेमकै गहिरो रूप हो। ‘जलाकी’ले यिनै त्याग, विछोड र प्रतीक्षाको कथा भनेको छ।’

एकपछि अर्को फिल्ममा फरक भूमिका निर्वाह गर्दै आएकी उपासनाका लागि ‘जलाकी’ अभिनय यात्राको अर्को महत्वपूर्ण परीक्षा र अवसर दुवै हो। यस फिल्मले आफूलाई फेरि दर्शकको मनको नजिक पुर्‍याउने विश्वास उनले लिएकी छन्।

‘खुस्मा’का निर्देशक अशोक थापा मगरले निर्देशन गरेको ‘जलाकी’ मगर समुदायमा आस्था, सम्झना र मायाको प्रतीकका रूपमा चिनिने ढुङ्गाको स्तम्भसँग सम्बन्धित छ। निर्देशक मगरका अनुसार यही सांस्कृतिक प्रतीकलाई केन्द्रमा राखेर मगर र गुरुङ समुदायको संस्कृति, परम्परा तथा भावनालाई फिल्ममा प्रस्तुत गरिएको छ।

फिल्ममा उपासना सिंह ठकुरी र सोनम तोप्देनसँगै शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्क बहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिनलगायतको अभिनय छ। विशेष भूमिकामा क्याप्टेन विजय लामा देखिनेछन्। बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनहा मगर छन्। यही फिल्मबाट मिस सिक्किम साहारा हाङमा लिम्बूले नेपाली रजतपटमा डेब्यु गरेकी छन्।

एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी हुन्। फिल्मको वितरण गोविन्द शाहीको काफिया फिल्म्स र कुवेर सिने डिष्ट्रिब्युसनले गर्नेछन्।

कमेन्ट गर्नुहोस्