रंगमञ्च । नेपाली रंगमञ्चका परिचित अनुहारहरू, अभिनेता तथा निर्देशक सरोज खनाल, अभिनेत्री सरिता गिरी र सरस्वती चौधरी लामो समयको अन्तरालपछि नाटकमा फर्किएका छन् । उनीहरू सोमनाथ खनालको निर्देशन रहने नयाँ नाटकबाट रंगमञ्चमा देखिन लागेका हुन् । निर्देशक खनालले कलाकारहरूको परिचय गराउँदै आगामी जेठ १५ गतेदेखि मण्डला थिएटरमा उक्त नाटक मञ्चन हुने जानकारी दिएका छन् । यद्यपि, नाटकको कथावस्तुबारे भने अहिले नै खुलाइएको छैन।
उल्लेखनीय कुरा के छ भने यी तीनै कलाकारले आफ्नो अभिनय यात्रा थिएटरबाटै सुरु गरेका थिए । थिएटरको अनुभवलाई उनीहरूले फिल्ममा पनि प्रस्तुत गरे र अब लामो समयपछि पुनः रंगमञ्चमा फर्किएका छन् । नाटकमा काम गर्नका लागि सरोज खनाल र सरिता गिरीले त आफूलाई आएको फिल्मको प्रस्तावसमेत अस्वीकार गरेको बताएका छन् ।
करिब ३० वटा नाटकमा अभिनय गरिसकेपछि फिल्म क्षेत्रमा प्रवेश गरेका अभिनेता सरोज खनालले २०७३ सालपछि यस वर्ष नाटकमा पुनरागमन गर्न लागेको बताए । आफ्नो जन्मभूमिलाई बिर्सन नसकेर फिल्म छोडेर नाटकमा काम गर्न लागेको उनले सुनाए ।
‘विगतमा नाटक छोडेर फिल्ममा काम गरेँ । अहिले फिल्म छोडेर नाटक गर्न लागेको छु । कता कता डर पनि लागिरहेको छ र एकदम खुसी पनि छु’, नाटकसँग जोडिन पाउँदाको खुसी व्यक्त गर्दै उनले भने । फिल्ममा सधैँ चरित्रकै लागि भौँतारिरहनु परेकोले आगामी दिनमा अवसर मिलेसम्म नाटकलाई नै निरन्तरता दिने सोचमा रहेको उनले बताए ।
अभिनेत्री सरिता गिरी पनि तीन वर्षअघि नाटक ‘उलार’ मा देखिएकी थिइन् । मण्डला थिएटरको टिमसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गर्दै उनले आफ्नो जीवनको अन्तिम क्षणसम्म रंगमञ्चमै रमाउने इच्छा रहेको बताइन् । लामो समय नाटकमा काम गरेपछि चलचित्रमा लागे पनि आफूले खोजेजस्तो चरित्र नपाएपछि रंगमञ्चमा फर्कनुपरेको उनको भनाइ छ ।
त्यस्तै, कलाकार सरस्वती चौधरी यसअघि ‘देउराली डाँडी’ नाटकमा अभिनय गरेकी थिइन् र यो उनको रंगमञ्चमा दोस्रो प्रस्तुति हुनेछ । सरोज खनाल, सरिता गिरी र सरस्वती चौधरीका साथै नाटकमा रंगकर्मी अनुप न्यौपाने र सुशांक मैनालीको पनि अभिनय रहनेछ। अग्रजदेखि युवा पुस्तासम्मका कलाकारलाई समेटेर नाटक तयार पारिएकोले यसले रंगमञ्चमा नयाँ ऊर्जा थप्ने विश्वास निर्देशक सोमनाथ खनालले व्यक्त गरेका छन्।












