फिल्म । फिल्म ‘आ बाट आमा २’ को छायांकन सुरु भएको छ । निर्माण टिमले सोमबार बिहान मकवानपुरको चित्लाङबाट फिल्मको छायांकन थालेको हो ।आइतबार मात्रै अभिनेत्री मलिका महतलाई मुख्य अभिनेत्रीका रूपमा अनुबन्ध गरेसँगै निर्माण टिम छायांकनमा जुटेको हो ।
निर्देशक चन्द्र पन्तका अनुसार फिल्मको छायांकन चित्लाङ, काठमाडौं र बेलायतको लन्डनमा गरिनेछ । चित्लाङ र काठमाडौंको छायांकन तालिका सम्पन्न भएपछि बाँकी दृश्य खिच्न निर्माण टिम लन्डन प्रस्थान गर्नेछ । निर्देशक पन्तले एक महिनाको कार्यतालिका (सेड्युल) बनाएर छायांकन सुरु गरिएको जानकारी दिए ।
फिल्ममा पल शाह, मलिका महत, रिश्ता गुरुङ, निकिता आचार्य, विपना थापा, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट र नरेन खड्कालगायत कलाकारहरूको मुख्य भूमिका रहनेछ । फिल्मको कथा तथा पटकथा निर्देशक पन्त स्वयंले लेखेका हुन् ।
आगामी दसैंको अवसर पारेर असोज ३० गतेदेखि प्रदर्शनमा ल्याउने तयारी गरिएको फिल्मको वितरण अधिकार नेपालमा आरआर फिल्म्ससँग रहेको छ भने डिजिटल अधिकार ओएसआर डिजिटलले प्राप्त गरेको छ । आर्या इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भइरहेको फिल्मका प्रोडक्सन म्यानेजर करनसिंह रसाली रहेका छन् ।










