फिल्म । यही शुक्रबार २ माघदेखि सोमबार ५ माघसम्म १४ औँ संस्करणको ‘नेपाल अफ्रिका अन्तर्राष्ट्रिय फिल्म महोत्सव – २०२६’ आयोजना हुने भएको छ । चार दिनसम्म चल्ने महोत्सवमा नेपालसहित २० देशका ४३ वटा फिल्म प्रदर्शन गरिनेछ । चलचित्र विकास बोर्ड, चाबहिलमा आयोजना हुने महोत्सवमा नेपाली समूहअन्तर्गत करिब चार दर्जनभन्दा बढी फिल्म, वृत्तचित्र र लघु फिल्ममध्येबाट २० वटा छनोट गरिएको महोत्सव निर्देशक डब्बु क्षत्रीले जानकारी दिए।
कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन तथा विलक्षण क्रिएसन प्रा.लि.को आयोजनामा र चलचित्र विकास बोर्डको सहकार्यमा महोत्सव हुन लागेको हो। महोत्सवकी अध्यक्ष तथा सो कलेजकी प्रिन्सिपल डा. मञ्जु मिश्रका अनुसार यसपटक फिल्म प्रदर्शनसँगै अन्तरक्रिया, नृत्य कार्यशाला, कला प्रदर्शनी र मास्टर क्लाससमेत सञ्चालन गरिनेछ।
नेपाली कथानक फिल्मतर्फ १३ फिल्ममध्ये पाँच फिल्म अन्तिम चरणका लागि छनोट भएका छन्। छनोट हुनेमा मिलन चाम्स निर्देशित ओस्कार यात्रामा पुगेको फिल्म ‘अञ्जिला’, सरोज पौडेल निर्देशित ‘कोशेढुंगा’, ऋषी लामिछाने निर्देशित ‘माग्ने राजा’, दीपकप्रसाद आचार्य निर्देशित यो वर्षकै सफल फिल्म ‘परान’ र नर प्रधान (मित्र) निर्देशित ‘यो मन त मेरो नेपाली हो’ रहेका छन्।
वृत्तचित्रतर्फ भीमलाल श्रेष्ठ निर्देशित ‘अरिंगाल म्यान’, रमेश खड्का निर्देशित ‘डान्सिङ इन फायर’ र निशा मानन्धर निर्देशित ‘अ बडी नट माइन्ड’ छनोट भएका छन्। खुला र विद्यार्थी समूह गरी १० वटा लघु फिल्म प्रदर्शन गरिनेछ।
विद्यार्थी समूहमा विनोद पाण्डे निर्देशित ‘अ कलरफुल नाइट’, प्रसन्न माली निर्देशित ‘अन्तर्वार्ता’, समीर राई निर्देशित ‘पेज फाइभ’ र अश्विनी थापाको ‘इकोज अफ होप’ छन्। खुला लघु फिल्मतर्फ सौगात विष्ट निर्देशित ‘भुवा’, रुशिल अमात्य निर्देशित ‘मौनता’, कमल एक्चै मगर निर्देशित ‘अवशेष’, गोविन्दप्रसाद ढकाल निर्देशित ‘साइलेन्ट स्कार्ड’ र मोहन श्रेष्ठ निर्देशित ‘दृश्य’ चयन भएका छन्।
आदिवासी समूहअन्तर्गत सागर केरुङ निर्देशित ‘तान्सिङ’, दिलिप फुरुम्बो निर्देशित ‘नाम ओती’ र ‘सेमक्वा’ गरी तीन फिल्म प्रतिस्पर्धामा रहेका छन्।
नेपालबाहेक अफ्रिकी तथा अन्तर्राष्ट्रिय समूहबाट १९ देशका २३ फिल्म छनोट भएका छन्। यस वर्ष ४० भन्दा बढी देशबाट करिब ९० फिल्मको आवेदन परेकामा अन्तर्राष्ट्रिय लघु फिल्मतर्फ १५, वृत्तचित्र तीन, कथानक फिल्म दुई र अफ्रिकन फिल्म तीन छनोट भएका हुन्।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा इन्डोनेसियाबाट ‘इक्लिप्स’, ताइवानबाट ‘द इल्डर क्र्याब’, टर्कीबाट ‘आइ एम नट वर्क एनिमोर’, सर्बियाबाट ‘कास्ट’, अमेरिकाबाट ‘ग्राम्पी ओल्ड म्यान’ र ‘द जब’, बंगलादेशबाट ‘नो डाइस’ र ‘लेटर अफ द फलेन लभर्स’, इरानबाट ‘भोयउर’ र ‘द रोप’, फ्रान्सबाट ‘अगस्ट १७ एट फाइभ पीएम’, श्रीलंकाबाट ‘सायाम’, अस्ट्रियाबाट ‘रेभेनान्ट’, भारतबाट ‘ब्ल्यु’ र हङकङबाट ‘पेपर रिङ’ रहेका छन्।
अन्तर्राष्ट्रिय कथानक फिल्मतर्फ बंगलादेशको ‘मेमोरी अफ ग्लुमी मनसुन’ र कोट डी आइभोरीको ‘साइलेन्स मोर्टेल’ प्रतिस्पर्धामा छन्। अन्तर्राष्ट्रिय वृत्तचित्रतर्फ युक्रेनको ‘द स्केड्युल अफ फाइटिङ टु लर्न’, एस्टोनियाको ‘अटिस्ट अफ सर्वाइभल’ र जर्मनीको ‘गर्ल्स डोन्ट प्ले स्पोर्ट्स’ छनोट भएका छन्।
अफ्रिकन फिल्मतर्फ इजिप्टको ‘द मंकी’, ट्युनिसियाको ‘मेट्रो पोलिस’ र मोरक्कोको ‘द चेम्बर’ अन्तिम प्रतिस्पर्धामा छन्।
महोत्सवअन्तर्गत ३० जनालाई नृत्य प्रशिक्षण दिइनेछ। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र चलचित्र विकास बोर्डको सहकार्यमा नृत्य प्रशिक्षण आयोजना गरिनेछ। साथै, महोत्सव स्थलमा ‘सिनेमा, कल्चर एन्ड नेचर’ शीर्षकमा चार दिनसम्म चित्रकला प्रदर्शनी पनि हुनेछ।
यसपटक विभिन्न देशका १० जना विदेशी फिल्मकर्मीको सहभागिता रहने महोत्सव निर्देशक डब्बु क्षत्रीले जानकारी दिए। उनका अनुसार गत वर्षदेखि विश्वका फिल्मलाई समेट्ने उद्देश्यसहित महोत्सवको नाम ‘नेपाल अफ्रिका अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ राखिएको हो।










