फिल्म । आउँदो नयाँ वर्ष विसं २०८२ लाई लक्षित गर्दै तीन फिल्मले रिलिजको तयारी थालेका छन् । नयाँ वर्षलाई लक्षित गर्दै चैत २९ गते ‘कर्मा’ र ‘पिताम्बर’ प्रदर्शन घोषणा गरिसकेका छन् भने ‘नरसिंहा : अवतार’ पनि सोही मितिमा आउने तयारी थालेको छ । तीनै फिल्म एक्सन विधामा तयार भएका छन् । दिवाकर भट्टराईको निर्देशनमा तयार भईरहेको फिल्म ‘नरसिंहा:अवतार’ लाई राजेश हमालको कमब्याक फिल्म भनिएको छ ।
यस्तै , कृषा चौलागाईको महत्वाकांक्षी प्रोजेक्ट भनिएको फिल्म ‘पिताम्बर’ ले हालै प्रदर्शन घोषणा गरेको छ । सौगात मल्ल, प्रदीप खड्का, आर्यन सिग्देल, दयाहाङ राई, अनुपविक्रम शाही, सुरक्षा पन्त, प्रमोद अग्रहरी, दिव्यदेव, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, गौरव विष्ट, विशाल पहारीलगायत कलाकारको अभिनय रहेका कारण यो फिल्मको हाइप बढेको छ । यो अहिलेको बिग मल्टीस्टारर फिल्म हो ।
यस्तै, सोही मितिमा सौरभ चौधरीको निर्देशनमा तयार भइरहेको फिल्म ‘कर्मा’ ले पनि प्रदर्शन घोषणा गरेको छ । यो फिल्म छायांकनरत रहेकाले यसले रिलिज हेरफेर गर्न सक्ने बुझिएको छ । यद्यपि हाललाई फिल्मको घोषित प्रदर्शन मिति चैत २९ नै छ । यसमा विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल र दिव्यदेवको अभिनय रहेको छ ।
यी तीनै फिल्मको लागि विदेशी फिल्म चुनौती बन्नेछन् । यी फिल्म भन्दा १० दिन अगाडि सलमान खानको प्रतिक्षित फिल्म ‘सिकन्दर’ प्रदर्शन हुनेछ । यी तीन फिल्मसँगै अक्षय कुमार, अर्शद वारसी अभिनित कोर्टरुम ड्रामा ‘जोली एलएलबी ३’ प्रदर्शन हुँदैछ । यसकारण पनि नयाँ वर्षमा फिल्महरुको एक आपसमा ‘महा भिडन्त’ देखिने लगभग पक्का छ । यद्यपि सो समयसम्म केही फिल्मले रिलिज हेरफेर गर्न सक्ने सम्भावना धेरै छ ।