फिल्म । अभिनेता जितु नेपालको मुख्य भूमिका रहेको फिल्म ‘कार्की साइँला’को फस्ट लुक्स पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले नयाँ वर्षको अवसर पारेर आगामी साउन १ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो। सार्वजनिक पोस्टरमा जितु नेपाललाई भरियाको रूपमा प्रस्तुत गरिएको छ। उनले बोकेको डोकोमाथि अन्य भरियाहरू हिँडिरहेको दृश्य देख्न सकिन्छ भने आकाशमा उडिरहेका चराहरूले पोस्टरलाई थप आकर्षक बनाएको छ। पोस्टरले फिल्मको कथावस्तुबारे केही संकेत गर्ने अनुमान गरिएको छ।
पोस्टरको तल्लो भागमा एक मायालु जोडीको दृश्य पनि देखाइएको छ, जहाँ एक युवतीले पुरुषको काँधमा टाउको राखेकी छन्। यसले दर्शकमाझ पात्रको पहिचानबारे कौतुहलता पैदा गरेको छ। पोस्टरमा जितु नेपाललाई फरक र आकर्षक लुक्समा देखाइएको छ, जसले फिल्मप्रति उत्सुकता बढाएको छ।
हास्य कलाकारका रूपमा परिचित जितुलाई निर्देशक राजेन्द्र बस्नेतले यस फिल्ममा भरियाको भूमिकामा प्रस्तुत गरेका छन्। फिल्मको छायांकन धनकुटा, सुनसरीको बराहक्षेत्र र चतरा लगायतका स्थानमा गरिएको हो। फिल्ममा जितु नेपालसँगै प्रियना आचार्य (मुन्नी), सुशील पोखरेल, बिरेन्द्र सिंह कुशहुवा, मान्सी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई र कमल देवकोटालगायत कलाकारको अभिनय रहेको छ।
बालकुमार राई निर्माता रहेको यस फिल्ममा कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ता रहेका छन्। मुख्य सहायक निर्देशक रोजल थापा रहेका छन् भने छायांकन डम्बर राईले गरेका हुन्। कर्णबहादुर फिल्म्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यस फिल्ममा द्वन्द्व निर्देशन किरण दाहालले गरेका छन् भने संगीत दिप्सन लिम्बुको रहेको छ। प्रोडक्सन सिबी भण्डारीले सम्हालेका छन्। फिल्मको वितरण कुवेर फिल्म्सले गर्नेछ।










