कस्तो छ ‘काजी’ र ‘मितज्यू’को व्यापार ?

फिल्म । चलचित्र विकास बोर्डअन्तर्गतको ‘सिनेपा @ बक्सअफिस’ले सार्वजनिक गरेको तथ्यांकअनुसार गत जेठ ८ गतेदेखि प्रदर्शनमा आएका फिल्म ‘काजी’ र ‘मितज्यू’को व्यापार विवरण सार्वजनिक भएको छ । बोर्डको विवरणअनुसार अभिनेता विपिन कार्की, अभिनेत्री केकी अधिकारी र गरिमा शर्माको अभिनय रहेको फिल्म ‘काजी’ले हालसम्म ४० लाख ८८ हजार १७५ रुपैयाँ ग्रस कमाइ गरेको छ ।

लक्ष्मण रिजालको निर्देशनमा बनेको उक्त फिल्मका लागि कुल १३ हजार ७ टिकट बिक्री भएका छन् । रामप्रसाद रिजाल निर्मित फिल्ममा ग्रामीण परिवेशको प्रेमकथालाई प्रस्तुत गरिएको छ ।

त्यसैगरी, जेठ ८ गते नै प्रदर्शनमा आएको फिल्म ‘मितज्यू’ले सोही अवधिसम्म १ करोड २० लाख ५९ हजार ८२ रुपैयाँ कमाइ गरेको छ । अनिल बुढा मगर निर्देशित उक्त फिल्मका लागि कुल ४१ हजार २४८ टिकट बिक्री भएका छन् । जनक घर्ती मगर निर्मित फिल्ममा सौगात मल्ल, दयाहाङ राई, टेरिया फौजा मगरलगायत कलाकारहरूको अभिनय रहेको छ ।

फिल्म विकास बोर्डअन्तर्गतको ‘सिनेपा@बक्सअफिस’मा उपलब्ध सार्वजनिक तथ्यांकअनुसार यस वर्ष जेठ मध्यसम्म प्रदर्शनमा आएका नेपाली फिल्ममध्ये ‘लालीबजार’ सर्वाधिक कमाइ गर्ने फिल्म बनेको छ । बोर्डले प्रत्येक सोमबार नेपाली फिल्महरूको बक्स अफिस विवरण आधिकारिक रूपमा सार्वजनिक गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्