‘कबड्डी ५’ लाई सुपरहिटको ट्याग

फिल्म । रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’लाई देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजले सुपरहिटको ट्याग दिएको छ। क्युएफएक्सले प्रदर्शनको तेस्रो दिन अर्थात् आइतबारदेखि नै फिल्मलाई सुपरहिट घोषणा गरेको हो।

देशका प्रमुख नौ सहरमा रहेका क्युएफएक्सका १७ वटा हलमा प्रदर्शन भइरहेको फिल्मले दुई दिनमै डेढ करोड रुपैयाँको व्यापार गरेपछि तेस्रो दिन सुपरहिटको ट्याग पाएको हो।

क्युएफएक्सले आइतबार उपत्यका र उपत्यकाबाहिरका हलमा फिल्मलाई ७० भन्दा बढी शो दिएको छ। निर्माण टिमका अनुसार देशभर फिल्मले ३०० भन्दा बढी शो पाएको छ। फिल्मका अधिकांश शो हाउसफुल भइरहेका छन्।

गत शुक्रबार अर्थात् कात्तिक ६ गतेदेखि प्रदर्शनमा आएको फिल्मले सुरुवाती दिनदेखि नै आक्रामक व्यापार गरिरहेको छ। निर्माण टिमको अनुमानअनुसार फिल्मले दुई दिनमा ३ करोड रुपैयाँभन्दा बढीको व्यापार गरिसकेको छ।

फिल्मले दर्शक तथा समीक्षकबाट पनि उत्कृष्ट प्रतिक्रिया पाइरहेको निर्माण टिमले जनाएको छ। यसैबीच फिल्मका कलाकार, निर्देशक तथा निर्माताहरू देशभरका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छन्। दर्शकले विशेषगरी फिल्मका मुख्य कलाकारको अभिनय र काजीको विवाह भएको प्रसंगलाई लिएर खुसी व्यक्त गरिरहेका छन्।

फिल्ममा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, सिर्जना गुरुङ, विपीन कार्की, रिश्मा गुरुङ, पुष्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजर, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पेहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंलगायत कलाकारको अभिनय रहेको छ।

बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्ममा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी)को लगानी रहेको छ।

कमेन्ट गर्नुहोस्