दर्शकसँग केक काटेर खुसी साट्दै ‘ऊनको स्वीटर’

फिल्म । प्रदर्शनरत फिल्म ‘ऊनको स्वीटर’ले नेपाली बक्सअफिसमा सफलता हात पाएको छ । प्रदर्शन अगावै गीतसङ्गीतको कारण चर्चामा रहेको फिल्मलाई दर्शकले रुचाए । फिल्मले दश करोडको व्यापार गरिसकेको निर्माण पक्षले दावी गरेका छन् । सफलता खुसी साट्न निर्माण टिमले मङ्गलबार साँझ काठमाडौँको चाबहिलस्थित एफक्युब सिनेमा हलमा दर्शकहरूसँग केक काट्यो ।

कार्यक्रममा प्रमुख कलाकारहरू विपिन कार्की, एलेक्स पारस, परीक्षा लिम्बु, शारदा देवी सिलवाल, भावना खपाङ्गी मगर, गायक सुजन चापागाईँ, सङ्गीत निर्देशक कोविद बज्र, गीतकार हर्क साउद, छायाकार चिन्तन राजभण्डारी र निर्देशक नवीन चौहान उपस्थित थिए । केकमा फिल्मका पोस्टर र चर्चित गीतहरूको झल्को दिने चित्रहरू सजाइएको थियो ।

निर्देशक नवीन चौहानले यो कार्यक्रम प्रचारको लागि नभई ‘दर्शकसँग खुसी साट्ने र धन्यवाद व्यक्त गर्ने अवसर’ भएको बताए । कार्यक्रममा हल हाउसफुलको अवस्थामा थियो भने दर्शकको उत्साह चुलिएको देखिन्थ्यो । युनिटले फिल्मको सफलतामा सहयोग गर्ने सबैलाई धन्यवाद दियो ।

हाल नेपालभर १०० भन्दा बढी शोमा प्रदर्शन भइरहेको यो फिल्म अमेरिका, अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, युरोप र मध्यपूर्वमा समेत चलिरहेको छ । फिल्ममा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, सुनिल पोखरेललगायतका कलाकारको अभिनय छ ।

कमेन्ट गर्नुहोस्