साहित्य । साहित्यकार लेखनाथ पोखरेलको नयाँ कथासंग्रह ‘एक रातको बास’ पाठकमाझ आएको छ । यसअघि नियात्रासंग्रह ‘फकलीको गाउँ’, कथासंग्रह ‘मार्बल हाउसकी शालिनी’, हास्य-निबन्धसंग्रह ‘चिबे-नकटो’ र उपन्यास ‘वनिता’ प्रकाशित गरिसकेका पोखरेलको यो दोस्रो कथासंग्रह हो । ‘फकलीको गाउँ’ अंग्रेजी संस्करणमा पनि प्रकाशित छ।यो २०८ पृष्ठको कथासंग्रहमा १५ कथा समावेश छन् ।
‘कोरली’, ‘नियतिको खेल’, ‘पोल्टाको सिन्दूर’, ‘पहाडे मनई आइटा’, ‘सुनयना’, ‘लच्छुकी घरवाली’, ‘एक रातको बास’, ‘पराई सुख’, ‘सन्त्रास’, ‘माखे सांगलो’, ‘तिमीबाहेक’, ‘म को हुँ ?’, ‘आश्रम’, ‘आफलेको ठाँडो’ र ‘यो पनि झुट हो !’ शीर्षकका कथाहरूमध्ये संग्रहको शीर्षक ‘एक रातको बास’ कथाबाटै राखिएको छ। पत्रकार कृष्ण भुसालद्वारा सम्पादित यो संग्रहमा ‘वृद्धको डायरी’लाई कथाक्रमभन्दा अलग राखिएको छ।
कथाहरूमा पात्रहरूको संघर्ष, जीवनशैली र मनोविज्ञानलाई सजीव रूपमा चित्रण गरिएको छ । सरल भाषा, प्रभावकारी वर्णनशैली र शिल्पगत परिपक्वताले कथाहरू पठनीय बनेका छन् । कथाहरूले समाजका सुख-दुःख, संवेदना र विसंगतिलाई उजागर गरेका छन्।नेपाली कथासाहित्यमा शहरी परिवेशका कथाहरू बढी लेखिएको समयमा ‘एक रातको बास’ ग्रामीण पृष्ठभूमि, सामाजिक सम्बन्ध र सामूहिक जीवनका कथाहरू लिएर आएको छ ।
मोबाइल किताब प्रा.लि.ले डिजाइन र छपाइ गरेको यो कृति कलात्मक आवरणसहित प्रकाशित छ । पुस्तकको मूल्य ४ सय ५० रुपैयाँ तोकिएको छ । साहित्यिक वृत्तमा यो कृतिलाई नेपाली कथासाहित्यमा महत्त्वपूर्ण योगदान मानिएको छ ।










