‘ऐना झ्यालको पुतली’ : ग्रामिण समाजको दर्पण

समीक्षा । केहि समय यता नेपाली मौलिकता बोकेका फिल्महरु प्रदर्शन भइरहेका छन् । ‘नेपाली माटोको सुगन्ध’ दिने प्रचारप्रसार भइरहेको फिल्मको भिडमा फरक देखिएको छ ,’ऐना झ्यालको पुतली’ । यसैवर्ष मात्र दोख , चिसो मान्छे , पानीफोटो , प्रकाश , द सेक्रेट्स अफ राधा , झिँगेदाउ जस्ता फिल्म आइसकेका छन् । यी फिल्महरुमा व्यसायिक सफलता ‘झिँगेदाउ’ ले प्राप्त गरिरहेको छ । यद्दपि गत भदौ २४बाट प्रदर्शनरत फिल्म ‘ऐना झ्यालको पुतली’ माथि उल्लेखित फिल्महरुको कमजोरीलाई सुधार्दै मौलिक स्वाद बोकेर हलमा प्रदर्शन भइरहेको छ । कथ्य शैली , नेपाली परिवेश र विश्व फिल्मसँग नेपाली कथालाई जोड्ने ‘ऐना झ्यालको पुतली’ सुजित बिडारीद्वारा निर्देशित फिल्म हो ।

५० को दशकको ग्रामिण समाजको दर्पण बनेको फिल्म हेरेपछि फिल्मकर्मी , समीक्षकहरुले यसलाई ‘छुटाउन नहुने फिल्म’ भनेर स्वतस्फूर्त प्रचारप्रसार गरिरहेको देख्न सकिन्छ । नन एक्टर अर्थात् अभिनय नजानेको कलाकारहरुको बाहुल्यता रहेको फिल्मले हामीलाई ०५२ सालको आसपासको ग्रामिण परिवेशमा लैजान्छ । फिल्म हेरिरह्दा सजिलै बाल्यकालको यात्रा यस फिल्मले गराउँछ । मौलिक कथा वाचन गर्दा गर्दै लेखक तथा निर्देशक बिडारीले कथा वाचनमा फिल्मी शैली अपनाएर मौलिकता प्रस्तुत गर्नु भएको छ ।

मौलिक फिल्ममा मनोरञ्जन नभएको गुनासो बढिरहँदा यस फिल्मले दर्शकलाई तृप्त बनाउन सफल भएको छ । ग्रामिण समाजमा भोग्ने पिडा र परिवेशलाई फिल्मी शौलीमा प्रस्तुत गरिएको छ । विद्या (कञ्चन चिमरिया), वसन्त (दिनेश खत्री) र आमा (सिरु बिष्ट) मा फिल्म केन्द्रीत छ । संखुवासभाको ज्यामिरेका यिनै तीन चरित्रमार्फत ग्रामिण समाजमा छोरीले भोग्ने पिडालाई देखाइएको छ । दिदी विद्या र भाई वसन्तमालाई हुर्काउन आमाले गरेको संघर्ष , विद्यालाई ७ कक्षा पास गरेर ८ कक्षा पढ्न ठूलो स्कुल जाने रहर , वसन्तको बालापन मार्फत फिल्मले ज्यामिरेको परिवेश देखाएको छ ।

विद्यालाई सहर गएर ठुलो स्कुल पढ्ने रहर छ । सधै जसो कक्षामा पहिले हुने विद्या ८ कक्षामा पुग्दा दोस्रो भएकी छिन् । उनको पढ्ने रहर पुरा गर्ने चाहना आमाको नभएको होइन । तर ग्रामिण भेगमा एक्लै घरमुली बन्नु भएकी आमालाई सहज छैन । घर खर्च चलाउनु छ , छोरा र छोरीलाई पनि पढाउनु छ । उहाँलाई श्रीमान्को साथ् छैन । एकलै घर चलाउँदा महिलाले गरिरहेको संघर्ष मार्फत आमाले आफ्नो इच्छा मारेर छोरीको सपना पुरा गर्ने अठोट गर्नुहुन्छ । यद्दपि आउने विभिन्न बाधा अड्चनले त्यसलाई रोकिरहेका छन् । विद्यालाई छात्रवृत्तिले सपना पुरा गराउन सक्थ्यो । यद्दपि दोस्रो भएको कारण त्यो बाटो पनि बन्द भयो । उनलाई पढ्ने रहर नभएको होइन । तर आमालाई काममा सघाएर पढ्नु पर्ने भएकाले कक्षा उक्लिदै गर्दा विद्यालाई पहिलो स्थानमा रहन मुस्किल भएको हो । उनी दोस्रो भएकी हुन् ।

आमाले घरखर्चको लागि जुटाएको रकम छोरीको शिक्षामा खर्च गर्न तयार भएता पनि त्यो सपना पुरा हुदैन । घरमा परदेशबाट आइपुग्नु भएको बुवाले स्कुल भर्ना गर्न राखिएको रकम मद्यपानमा गरेर खर्चिदा फिल्ममा आन्तरिक पारिवारिक द्वन्द्व सुरु हुन्छ । छोरीले बुवालाई सपनाको बाधक मान्छिन् । किनकी उनी त्यो रकम लिएर गाउँले मितिनीसँग पढ्न सहर जान तयार भएकी हुन्छिन् । उनी आफू कक्षामा अन्य विद्यार्थीको दाजोमा पढाइमा बलियो भएता पनि आर्थिक अभावले पढ्ने रहरलाई पुरा गर्न सकेकी छैनन् । विद्याले पढ्ने सपनामा बाचिरह्दा उनको भाई वसन्त भने बालापनमा रमाईरहेका छन् ।

वसन्तको रुची पढाई भन्दा अन्य क्रियाकलापमा बढी देखिन्छ । उनको माध्यमबाट ग्रामिण युवाको बालापनलाई अनुभव गर्न सकिन्छ । विद्या झैँ वसन्त पनि नन एक्टर हुन् । अर्थात् उनीहरु व्यावसायिक कलाकार होइनन् । फिल्ममा पहिलोपटक काम गरेका कलाकारहरु हुन् । उनले अभिनय गरेका छैन । बालापन बाचेका छन् । जसले उनलाई पनि ‘क्लासिक’ बनाउन मदत गरेको छ । वसन्त दिदीलाई आमाले बढी माया गरेको गुनासो गरिरहन्छन् । किनकी उनलाई फिल्म हेर्न , खाजा खान खोजे जति रकम प्राप्त छैन । उनले बोल्ने संवाद र गर्ने गतिविधिले फिल्ममा मनोरञ्जन दिएको छ । उनी निर्दोष छन् । कलाकार पनि होइनन् । त्यसैले उनले गरेको अभिनय जीवन्त छ ।

फिल्मले ज्यामिरे गाउँ मार्फत देखाउन खोजेको कथाले हरेक ग्रामिण क्षेत्रलाई प्रतिनिधित्व गर्छ । निर्देशक बिडारीले गाउँ ज्यामिरेलाई पूरा देशका घटनाक्रमसँग पनि जोड्नु भएको छ । फिल्म २०५२ सालबाट सुरु भएको फिल्ममा यहिँ सालको फागुनबाट सुरु भएको माओवादी द्वन्द्वलाई रेडियोको समाचारमार्फत् स्थापित गरिएको छ । त्यो समयमा देशमा भइरहेका अरु घटनालाई पनि निर्देशकले यही रेडियोमार्फत वाचन गरेर फिल्मलाई गाउँमा मात्र सिमित राख्नु भएको छैन ।

फिल्मको सुन्दर पक्ष भनेकै पढ्ने चाहना बोकेर हर प्रयाश गर्ने विद्या र उनको प्रयाशलाई रोक्ने समाज बीचको अन्तरद्वन्द्व हो । मूलकथालाई रत्तिभर नछाडी बुनिएका स-साना कथाले सौन्दर्य मात्र थपेको छैन , दर्शकलाई जोड्ने काम पनि गरेको छ । फिल्ममा विद्याले आफ्नो पढने सपना पुरा गर्न कविता वाचन प्रतियोगितामा पनि समेत भाग लिन खोज्छिन् । यद्दपि विविध कारणले उनले सहभागी हुन् पाउन्दिनन् ।

तात्कालिन समयमा लोकप्रिय ‘मुना’ मा समेत उनको कविता छापिदैन । घरको नाजुक आर्थिक अवस्था , दायित्वबाट पन्छिएका बुवा , आफूलाई नबुझ्ने समाजमा विद्याको सपना पुरा र अन्त्य एकैपटक हुन्छ । निर्देशक बिडारीले उल्लेखित पक्षलाई मार्मिक रुपमा प्रस्तुत गर्नु भएको छ । सपना बाच्ने पात्रको प्राप्ति र अन्त्यलाई एकै दृश्य मार्फत प्रस्तुत गर्नुले उहाँको निर्देशकीय कौशलतालाई प्रस्ट्याउछ । यो फिल्मको कथा जति सरल छ , उत्तिकै कलात्मक ।

विशेषत मौलिक फिल्म बनाउदा उहाँले सरल तरिकाले बुझ्न सक्ने बनाउनु भएको छ । यो फिल्म हेरिरह्दा आफ्नो बितेको बालापनलाई सहजै अनुभव गर्न सकिन्छ । त्यो समयमा फर्काउन सक्नु र त्यसलाई महसुश गराउन सक्नु निर्देशिक बिडारीको बलियो पक्ष हो । उहाँ आफ्नो काम र प्रस्तुतिमा पूर्ण रुपमा प्रष्ट हुनहुन्छ । हाम्रो घर र समाजकै कथालाई ठुलो पर्दामा प्रस्तुत गरिएकाले फिल्म हेरिरह्दा पात्रसँग सहजै सम्बन्ध स्थापित हुन्छ ।

फिल्मको कथासार निर्देशक बिडारीकै बालापनको यादलाई समेटेर तयार गरिएको हुँदा लेखक , निर्देशकको दायित्व मनबाटै पुरा गरेको आभास हलमा पुगेको दर्शकले गर्नुहुन्छ । उहाँको डेब्यु निर्देशनमै यतिको सशक्त फिल्म दिनु तारिफयोग्य छ । साथै , फिल्म हल नै नदेखेका कलाकारहरुबाट अभिनय निकाल्नु सक्नु पनिले उहाँमा भएको परिपक्वता प्रस्ट्याउछ । अभिनय र निर्देशनसँगै यो फिल्मको छायांकन, सम्पादन, पाश्र्व संगीत, ध्वनि मिश्रण लगायतको प्राविधिक पक्ष पनि अब्बल छन् । अमर महर्जनले संखुवासभाको जीवनलाई क्यामेराको लेन्स मार्फत कैद गर्नु भएता पनि यो जीवन्त देखिएको छ । उहाँको कलाकार पछ्याउने ट्रयाकिङ सटहरू असाध्यै सुन्दर देखिन्छन् ।

‘ऐना झ्यालको पुतली’ गाउँको कथा हो र गाउँमै सकिन्छ तर यसले सहरलाई त्यहाँको समस्या , सौन्दर्यतासँगै सम्भावना समेत औल्याउन मदत गर्छ । नेपालमा पछिल्ला केही वर्षमा मौलिक कथामा उस्तै शिल्पसहित फिल्म बनाउने सर्जकको जमात बढेको छ । यो स्वागत योग्य छ । तर यसपटकको स्वाद स्वस्थ्यकर भएर पनि उत्तिकै मिठो छ । यसैले अहिले फिल्मकर्मीहरु नै यसको प्रचारप्रसारमा जुटेको देख्न सकिन्छ । सामाजिक सञ्जालमा फिल्मसँग नजोडिएका कलाकर्मीहरुले पनि यसलाई हेर्न आग्रह गर्दै ‘क्लासिक’ फिल्म भनिरहनु भएको छ ।

यो ती विद्याहरुको कथा हो जो पढ्ने रहर बोकेर संघर्ष गरिरहेका छन् । यो ती वसन्तहरुको कथा हो जो दिदीको सपना पुरा गर्न संघर्षरत छ । अनि ती आमाहरुको कथा हो , जो एक्लै घर चलाएर आफ्नो छोरा छोरीलाई सक्षम बनाउन प्रयत्नरत हुनुहुन्छ । अनि त्यो समाज जहाँ एउटा छोरीको रहर नै पढ्ने छ । ‘ऐना झ्यालको पुतली’ हेर्ने फिल्म भएता पनि दर्शकले हलमा रहने ९० मिनेटको समय यसलाई बाच्नु हुन्छ । यसलाई मौलिकता बोकेको अर्गानिक स्वादिलो फिल्म भन्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्