रङ्गमञ्च । काठमाडौंस्थित मण्डला थियटरमा चलिरहेको दोस्रो ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२)’मा ‘नाटकमा शब्दको आकृति : कस्तो देखिन्छ ? किन लेखिन्छ’ शिर्षक दिइएको अन्तरक्रिया भएको छ। पत्रकार बसन्त बस्नेत सहजकर्ता रहनुभएको अन्तरक्रियामा नाटक कलाकार तथा निर्देशकद्वय दीया मास्के र बिमल सुवेदी र लेखक उपेन्द्र सुब्बाले संवाद गर्नुभयो ।
नारायण वाग्लेद्वारा लिखित उपन्यास ‘पल्पसा क्याफे’ ले नाटकको स्वरूप पाएको थियो । सोही दिन नाट्यरूपान्तरण गरिएको कृति समेत विमोचन गरियो । ‘एउटा राम्रो उदाहरण नै पल्पसा क्याफे हो । उपन्यासलाई रङ्गमञ्चमा ल्याइयो । त्यसपछि पुनः शब्दमा रूपान्तरण गरियो । कस्तो देखियो र लेखियो यसले प्रस्ट्याउछ’, निर्देशक सुवेदीले भने ।
लेखक सुब्बाले नाटक निर्देशकले नै लेख्न पनि गर्नुपर्नेमा बताए । ‘मलाइ नाटकमा रूची छैन । त्यसैले फिल्मनै लेखिरहेको छु । कसैले लेख्न सघाउनु भन्नुभएमा म तयार छु तर आफैँ लेखेर पुरा गर्ने जाँगर नै छैन’, लेखक सुब्बाले भने।
अभिनेत्री मास्केले दुई नाटक मात्र निर्देशन गर्नुभएको छ । फिल्ममा समेत अभिनय गर्ने मास्केले हालै ‘कथा कस्तुरी’ निर्देशन गर्नुभएको थियो । ‘मैले कथा कस्तुरीलाई नाटकको शैलीमा लेखिन । आठ पेजको कथालाई मष्तिस्कमै चित्र बनाएर नाटक तयार गरे । यद्दपि आउँदो नाटकमा म यस्तै गर्छु भन्ने छैन’, अभिनेत्री मास्केले भनिन्। ‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ भन्ने नारामा साथ भइरहेको महोत्सवमा मङ्सिर १७ गतेसम्म चल्नेछ ।