फिल्म । भगवान् बाहिर होइन आफ्नै मनमा छन् भन्ने कुरामा बढी विश्वास गर्ने अभिनेता आर्यन सिग्देल अभिनित फिल्म ‘पुजार सार्की’ मा ब्राह्मण चरित्रमा देखिँदै छन् । आर्यन ब्राह्मण समुदायको र पिता पण्डित भएता पनि उनमा पूजा पाठको गुण केही थिएन । ‘म आउट अफ ट्र्याकको मान्छे हुँ । मेरो बुवा पण्डित हुनुहुन्छ । बुवा पण्डित भएता पनि म खासै टिका नलगाउने मान्छे परेँ । म मनमा भएको भगवान् देखाइरहनु पर्दैन भन्ने सोचमा विश्वास राख्छु’, आर्यनले भने ।
‘पुजार सार्की’मा देखिने आर्यनको ब्राह्मण लुक उनकै पिताबाट प्रभावित छ । यसमा आर्यनको जोडीका रुपमा अभिनेत्री अञ्जना बराइली छिन् । अञ्जनाले दलित समुदायको प्रतिनिधित्व गर्ने चरित्र निभाएकी छन् । यसमा आर्यन पुजारी छन् । उनको प्रेम अञ्जनासँग हुन्छ । ‘यस फिल्मको भूमिकामा मैले पूजापाठ गर्दागर्दै अञ्जनासँग अफेयर हुने हो । मेरो चरित्र आफूभित्रै द्वन्द्व गरेको, पीडा बोकेर हिँडेको किसिमको छ । त्यस कारण प्रेम गर्दा पनि म त्यति साह्रो खुल्न पाउँदिनँ र पूजा गर्दा पनि धेरै पूजा गर्न पाउँदिन’, आर्यनले बताए ।
आफ्नो चरित्र आर्यनका लागि चुनौतीपूर्ण लाग्दो रहेछ । करियरको सुरुवात देखि नै आर्यनलाई ‘लभरब्वाई’ अभिनेताको ट्याग लागेको थियो । उनले चाहेर या नचाहेर सो ट्याग बोकेर दुई दशक लामो समय दर्जनौँ फिल्ममा काम गरे । करियरको मध्य बिन्दु तिर उनले ‘होमवर्क’ जस्तो अलग विषय र चरित्रमा काम गरेका थिए । तर, त्यसबाट उनको छवि बदल्न सकेन । उनले ‘पुजार सार्की’बाट आफ्नो छवि बदल्ने कोसिसमा छन् ।
‘हामीले यो धारको चलचित्र पनि गर्नुपर्छ र अर्को मूलधारको फिल्म पनि गर्नुपर्छ भन्ने मेरो मान्यता हो । दुवैलाई सन्तुलन गरेर अगाडि लैजान सकियो भने उद्योगलाई पनि फाइदा हुन्छ । राम्रो स्क्रिप्ट आयो भने प्रेमकथाको फिल्म पनि गर्छु । राम्रो तर फरक भूमिकाको स्क्रिप्ट आयो भने त्यसलाई बढी प्राथमिकता दिन्छु’, आर्यनको भनाई छ ।
यो फिल्मले उनको करियरमा केही इँटा थप्नेमा उनी विश्वस्त छन् । फिल्मकर्मीमा आर्यन केवल प्रेमकथामा काम गर्न रुचाउँछन् भनने मानसिकतालाई ‘पुजार सार्की’ले हटाउनेमा उनी ढुक्क देखिन्छन् । ‘मलाई फरक चरित्रमा प्रस्तुत गर्न हिचकिचाइरहनु भएका निर्माताहरुलाई यो फिल्मले उहाँहरूको हिचकिचाहट मेटाइदिन्छ’, उनले दाबीका साथ भने ।
‘पुजार सार्की’को ट्रेलरप्रति आफ्ना फ्यानको चासो बढेकोमा आर्यन दङ्ग छन् । आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने फिल्म ‘पूजार सार्की’ मा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अन्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको अभिनय पनि रहेको छ ।
विकास सुवेदीको लेखन रहेको फिल्मलाई सङ्गीतकार सुवास भुसालले निर्माण गरेका हुन् । राजेश श्रेष्ठको डिओपी रहेको ‘पूजार सार्की’लाई सुप्रिम पराजुलीले सम्पादन तथा कलर ग्रेडिङ, उत्तम न्यौपानेले साउण्ड डिजाइन, शैलेश श्रेष्ठले ब्याकराउण्ड स्कोर गरिरहेका छन् ।
हिमाल केसीले द्वन्द्व निर्देशन रहेको ‘पुजार सार्की’का मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत हुन् भने राजेश राज गिरी, तर्क राज न्यौपाने र आयुष दाहाल सहायक निर्देशक रहेका छन् । यसका कला निर्देशक साजन बस्ताकोटी र सदिक्षा महत्रा हुन् भने माधव प्रसाद पाण्डेको मेकअप र प्रिया रोक्काको मेकअप रहेको छ ।