नयाँ वर्ष : हाउसफुल छन् नेपाली फिल्म

फिल्म । नेपालको नयाँ वर्षलाई नेपाली फिल्मका लागि सुखद मानिन्छ । आज वैशाख १ गते प्रदर्शन भइरहेका नेपाली फिल्मलाई दर्शकको राम्रो साथ प्राप्त भइरहेको छ । काठमाडौँ उपत्यकामा रहेका प्राय सिनेमा हलमा टिकेट छैन । अर्थात् शोहरू हाउसफुल छन् । यसले गर्दा आज नेपाली फिल्मको व्यापार उच्च हुने छ ।

रामबाबु गुरुङको निर्देशनमा तयार भएको फिल्म ‘डिग्री माइला’ र प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको ‘महाजात्रा’ मा दर्शक भरिभराउ छन् । यी दुई फिल्म हेर्न परिवार नै दर्शक बनेर हल पुगिरहेका छन् ।

नयाँ वर्षको अवसर पारेर चैत ३० गतेदेखि रिलिज गरिएको फिल्मको विषयमा प्रतिक्रिया लिन अभिनेता दयाहाङ राई, विजय बराल, कमलमणि नेपाल, अभिनेत्री आँचल शर्मा, निर्माता मणिराम पोखरेलसहितको टिम विभिन्न हलमा पुगिरहेको छ । शनिवार काठमाडौँ उपत्यकाका सम्पूर्ण शो भरिभराउ छन् । फिल्ममा बुद्धि तामाङ, प्रकाश घिमिरे, अनिल सुब्बा, माओत्से गुरुङ, कमलमणी नेपाल लगायतका कलाकारको अभिनय छ । यो फिल्मले डिग्री पढेर पनि बेरोजगार रहेको एक गफाडी युवाको कथा भन्छ ।

‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको चौथो सातामा पनि हाउसफुल छ । देशभरका हलमा प्रदर्शनरत फिल्मले तीन सातामा तेइस करोड एक लाख ग्रस कलेक्सन गरेको छ । निर्माण पक्षले नेपालमा चौध करोड र विदेशमा नौ करोड एक लाखको ग्रस कलेक्सन गरेको तथ्यांक सार्वजनिक गरेको छ । फिल्मले आजसम्म नेपालमा मात्र १५ करोड ग्रस कलेक्सनको आकडा पार गर्ने निश्चित छ ।

दर्शकबाट प्राप्त प्रतिक्रिया र ब्राण्डले निर्माण गरेको हाइपको आधारमा फिल्म स्वदेश र विदेशमा नयाँ नयाँ रेकर्ड बनाउने बाटोमा छ । फिल्मलाई प्राप्तले शोले ‘महाजात्रा’ नयाँ वर्षमा पनि आक्रामक व्यापार गरिरहेको छ । फिल्ममा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् ।

‘द रेड सुटकेस’ले पाइरहेको प्रतिक्रियाले नेपाली फिल्म क्षेत्रले फरक कथा र फरक प्रस्तुतिमा पनि बजार बनाइरहेको छ भन्ने पुष्टि हुन्छ । फिडेल देवकोटा निर्देशित फिल्ममा विपिन कार्की, सौगात मल्ल, सृष्टी श्रेष्ठ, प्रविन खतिवडा लगायतका कलाकारले अभिनय गरेका छन् ।

कमेन्ट गर्नुहोस्