‘लालीबजार’ बाट उदाए विशाल

फिल्म । अभिनेता विशाल देवकोटा डेब्यु फिल्म ‘लालीबजार’ बाट दर्शकमाझ परिचित बनेका छन् । फिल्ममा उनले निर्वाह गरेको ‘नारायण’ पात्रलाई दर्शकले निकै रुचाएका छन् । कुप्रथाविरुद्ध आवाज उठाउने, शिक्षाको महत्त्व बुझाउने र इमानदार युवाको भूमिकामा देखिएका विशाल रंगमञ्च हुँदै फिल्म क्षेत्रमा आएका हुन् । आज आफ्नो जन्मदिन मनाइरहेका विशाल नेपालका रंगमञ्चमा अभिनेता तथा निर्देशकका रूपमा परिचित छन् ।

विशाल फिल्म ‘लालीबजार’ मा अडिसनमार्फत छनोट भएका थिए । उनको अभिनय कौशलका कारण डेब्यु फिल्ममै अभिनेत्री स्वस्तिमा खड्कासँग जोडी बाँध्ने अवसर पाएको निर्माण कम्पनी षट्कोण आर्ट्सले जनाएको छ । सानैदेखि कलाकार बन्ने सपना बोकेका विशालले नाटकमार्फत अभिनयलाई नजिकबाट बुझ्दै आफ्नो यात्रा अघि बढाएका थिए । रंगमञ्चमा लामो समय काम गर्दै अनुभव बटुलेका उनले त्यसैको निरन्तरतास्वरूप फिल्म क्षेत्रमा प्रवेश गरेका हुन् ।

जन्मदिनको अवसरमा उनले भने, ‘सानैदेखि कलाकार बन्ने इच्छा थियो । त्यही सपना पछ्याउँदै आज यहाँसम्म आइपुगेको हुँ । यसपटकको जन्मदिन अझ विशेष रह्यो । सोमबार मात्रै मैले मेरो डेब्यु फिल्म ‘लालीबजार’ को ५१औँ दिनको सफलता मनाएँ भने आज जन्मदिन परेको छ । यहाँबाट मेरो नयाँ यात्रा सुरु भएको महसुस गरेको छु ।’

उमेर खुलाउन नचाहेका विशालले आफू अनुभवका हिसाबले परिपक्व भइसकेको बताए । उनका अनुसार कान्तिपुर थिएटरमा मञ्चन भएको ‘मीरा’ नाटकमा अभिनय गरिरहेका बेला नै फिल्म ‘लालीबजार’ को टोलीको ध्यान उनीतर्फ गएको थियो । त्यसपछि अडिसनका विभिन्न चरण पार गर्दै उनी फिल्ममा छनोट भएका थिए । रंगमञ्चको अनुभवले नै आफूलाई फिल्म क्षेत्रमा प्रवेश गर्ने अवसर दिलाएको उनको भनाइ छ ।

उनले भने, ‘मैले अन्तिमपटक कान्तिपुर थिएटरमा ‘मीरा’ नाटकमा अभिनय गरेको थिएँ । त्यो नाटक हेर्न प्रदीप भट्टराई सर, रबिन दाइ र जेभी दाइ आउनुभएको थियो। त्यसपछि उहाँहरूले अफिसमा बोलाएर अडिसन प्रक्रिया सुरु गर्नुभयो। रंगमञ्चमा गरेको संघर्षको मेहनतले अहिले फल दिन थालेको अनुभूति भइरहेको छ ।’

हाल विशाल आगामी फिल्मको तयारीमा जुट्ने योजनामा छन् । ‘लालीबजार’ को सफलतापछि उनको काम दर्शकमात्र नभई फिल्म निर्माता तथा निर्देशकसम्म पुगेको छ । अहिले उनलाई विभिन्न फिल्मबाट अभिनयका प्रस्तावहरू आउन थालेका छन् ।

उनले भने, ‘प्रस्तावहरू आइरहेका छन्, केही निर्माता तथा निर्देशकसँग कुराकानी पनि भइरहेको छ। तर कुन फिल्म गर्ने भन्ने निर्णय गरिसकेको छैन। अहिलेसम्म पहिलो फिल्मकै प्रचार–प्रसारमा व्यस्त थिएँ। अब आगामी फिल्मको तयारीमा जुट्नेछु।’

चितवनबाट करिब नौ वर्षअघि काठमाडौं आएका विशालले पहिलो फिल्मबाटै दर्शकको अपार माया पाएका छन् । फिल्मको प्रचारका क्रममा मोफसल भ्रमणमा पुगेका उनलाई धेरै दर्शकले ‘छोरा होस् त नारायण जस्तो’ भन्दै प्रतिक्रिया दिएका थिए । दर्शकमाझ कमाएको यही विश्वासलाई आगामी फिल्महरूमा अझ सशक्त रूपमा प्रस्तुत गर्ने उनको लक्ष्य रहेको छ ।

कमेन्ट गर्नुहोस्