‘मन बिनाको धन-२’मा गौरी अनुबन्धित

फिल्म । संगीतकार तथा गायक टंक बुढाथोकीको निर्देशनमा निर्माण हुन लागेको नेपाली फिल्म ‘मन बिनाको धन-२’ मा अभिनेत्री गौरी मल्ल अनुबन्धित भएकी छन् । निर्माण पक्षका अनुसार उनीसँग औपचारिक लिखित सम्झौता सम्पन्न भइसकेको छ ।

गौरीको आगमनसँगै फिल्मको कलाकार टोली अझ सशक्त बनेको निर्माण टिमको विश्वास छ । यसअघि नै सरोज खनाल, विपिन कार्की, पूजा शर्मा र महेश त्रिपाठी मुख्य भूमिकाका लागि अनुबन्धित भइसकेका छन् । साथै किरण केसी, प्रकाश घिमिरे र शंकर श्रेष्ठलगायत अनुभवी कलाकारको पनि अभिनय रहनेछ ।

टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मको कथा निर्देशक टंक बुढाथोकी स्वयंले तयार पारेका हुन् । पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका छन् भने गीतसंगीतको जिम्मेवारी पनि बुढाथोकीकै रहनेछ । फिल्मको निर्माण विष्णुमाया मैनाली बुढाथोकीले गर्दैछिन् ।

फिल्मको पहिलो श्रृंखला ‘मन बिनाको धन’ मा अभिनय गरेका अशोक दर्जी र ए.आर. बुढाथोकी दोस्रो भागमा रहने वा नरहनेबारे निर्माण पक्षले हालसम्म कुनै आधिकारिक जानकारी दिएको छैन । निर्माण टिमका अनुसार फिल्मको छायाङ्कन भदौको पहिलो सातादेखि सुरु हुनेछ । काठमाडौं उपत्यकाका विभिन्न स्थानका साथै मुस्ताङमा पनि फिल्मको मुख्य छायाङ्कन गरिनेछ ।

कमेन्ट गर्नुहोस्