फिल्म । अभिनेता अनमोल केसीले मुलुकमा आइपरेको विपत्तिका बेला पीडितहरूलाई सहयोग गर्न अपिल गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्टाटस लेख्दै अभिनेता केसीले विपत्ति बाजा बजाएर नआउने भन्दै यस्तो संकटको घडीमा एकअर्काको सहारा बन्न आग्रह गरेका हुन् ।
आफ्नो सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘आजको विपत्तिले फेरि सम्झाएको छ, दुःख कसैको ढोका ढकढक्याएर आउँदैन। आज हाम्रा बा, आमा, दाजुभाइ र दिदीबहिनी पीडामा हुनुहुन्छ, भोलि हामीमध्ये जो कोही पनि पीडित हुन सक्छौँ।’
अभिनेता केसीले आफूले आफ्नो तर्फबाट विपद पीडितका लागि राहत स्वरूप सहयोग रकम हस्तान्तरण गरिसकेको जानकारी दिँदै सर्वसाधारण र प्रशंसकहरूलाई पनि सहयोगका लागि अघि सर्न अपिल गरेका छन् । रकमको आकारभन्दा पनि सहयोगको भावना ठूलो हुने भन्दै उनले सरकारले उपलब्ध गराएको आधिकारिक क्युआर कोड प्रयोग गरेर सहयोग पठाउन आग्रह गरेका हुन् ।
‘यो कठिन घडीमा पीडित परिवारहरूलाई एक्लो महसुस हुन नदिऔँ । आउनुहोस्, एकअर्काको सहारा बनौँ । नेपालको लागि, नेपालीका लागि’, उनले अगाडि लेखेका छन् । अनमोलको यो अपिललाई उनका प्रशंसकहरूले सकारात्मक रूपमा लिँदै विपद् व्यवस्थापन र राहत वितरणमा ऐक्यबद्धता जनाएका छन्।











