‘पाँच पाण्डव’ मा इभा

फिल्म । नेपाली फिल्म ‘पाँच पाण्डव’ को यतिबेला पूर्वी नेपालको झापामा धमाधम छायांकन भइरहेको छ । छायांकन सुरु भएको दुई साता बितिसक्दा निर्माण पक्षले कलाकार टोलीमा थप दुई पात्रलाई भित्र्याएको छ। काली रानी फिल्म्सको ब्यानरमा निर्माण भइरहेको यस फिल्ममा भर्सटायल अभिनेता प्रशान्त ताम्राकार र कन्टेन्ट क्रिएटर तथा मोडल इभा गिरीको प्रवेश भएको हो ।

छायांकनको १४औँ दिनमा उनीहरू सेटमा जोडिएसँगै फिल्मको क्यानभास अझ फराकिलो बनेको निर्देशक वसन्त निरौलाले जानकारी दिए । गत चैत २ गते नेपाल भारत सीमावर्ती सहर काँकडभिट्टाबाट शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको यस फिल्ममा नेपाली फिल्म क्षेत्रका दिग्गज र नयाँ पुस्ताका चर्चित कलाकारहरूको समिश्रण रहेको छ ।

फिल्मका मुख्य ‘पाँच पाण्डव’को भूमिकामा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सागर लम्साल (बले) रहेका छन्। यी पाँच पात्रलाई केन्द्रमा राखेर बुनिएको कथामा महिला मुख्य पात्रका रूपमा दीपाश्री निरौला र जनी गुरुङ देखिनेछन्।

फिल्मको शीर्षक ‘पाँच पाण्डव’ राखिए पनि यो कुनै पौराणिक वा धार्मिक कथा नभई पूर्ण रूपमा सामाजिक कथामा आधारित रहेको लेखक सुशील पौडेलले स्पष्ट पारेका छन् । फिल्मले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्बलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ ।

प्रस्तुतकर्ता नवीन श्रेष्ठका अनुसार फिल्मलाई भव्य बनाउन बजेटमा कुनै पनि सम्झौता गरिएको छैन । नवीनले यसअघि गत वर्ष फिल्म ‘लाज शरणम्’ निर्माण गरेका थिए। ४० दिनको छायांकन तालिका तय गरिएको यस फिल्मका अधिकांश दृश्य झापाका रमणीय र महत्वपूर्ण स्थानहरूमा खिचिनेछन्। झापाको सेड्युल सकिएपछि टोलीले अन्य स्थानतर्फ यात्रा गर्ने निर्देशक निरौलाले बताए।

कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको यो फिल्म श्याम तामाङले छायांकन गर्दै छन्।

कमेन्ट गर्नुहोस्