फिल्म । भदौ महिनाको सुरुआत भएसँगै नेपाली फिल्म प्रदर्शनको सङ्ख्या बढिरहेको छ । असार र साउनमा न्यून सङ्ख्यामा प्रदर्शन भएका नेपाली फिल्म भदौ महिनाको पहिलो साता तीन र दोस्रो साता दुईको सङ्ख्यामा प्रदर्शन भए । प्रदर्शनको सङ्ख्या बढेता पनि सफलताको सङ्ख्या भने बढ्न सकेको छैन । भदौ महिनामा प्रदर्शन भएका फिल्ममा ‘माग्ने राजा’ ले मात्र घरेलु बजारबाट लगानी उठाउँन सफल भएको छ ।
फिल्मलाई प्रदर्शक दिएको शो सङ्ख्या र फिल्मको अनलाइनमा देखिएको शोमा दर्शक चाँप देखिएको छ । ‘माग्ने बुढा’ को उपनामले चिनिएका अभिनेता केदार घिमिरे पहिलोपटक आफ्नो काँधमा फिल्मको सम्पूर्ण भार लिएर दर्शकसामु आएका थिए । लेखक सामीप्यराज तिमल्सेना र निर्देशक ऋषि लामिछानेको निर्देशनमा तयार भएको फिल्म ‘माग्ने राजा’ ले केदारको एकल भरमा फिल्मले लगानी उठाउने प्रमाणित गर्यो ।
भदौ पहिलो हप्ता अर्थात् ६ गते प्रदर्शन भएको ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरु’ ले सन्तोषजनक व्यापार गर्यो । तर, डेब्यु निर्देशनमा हिमाल न्यौपानेले नत बक्स अफिसमा आफ्नो कमाल देखाउन सके नत समीक्षा नै राम्रो प्राप्त गर्न सके ।
विजय बराल, केकी अधिकारी जस्ता कलाकार लिएर पनि निर्देशक न्यौपानेले राम्रो काम गर्न सकेनन् । फलत: प्रदर्शकले दोस्रो सातामै शो सङ्ख्या कटौती गरिसकेको छ । सोही मितिमा प्रदर्शन भएको फिल्म ‘ताराहरू’ लाई प्रदर्शकले दर्शक अभाव भन्दै हटाइसकेका छन् । यो एक साता पनि हलमा टिक्न मुस्किल देखिएको थियो । डेब्यु निर्देशनमा निर्देशक आशान्त शर्मा बक्सअफिसमा असफल भए ।
तीजलाई लक्षित गर्दै भदौ १२ मा प्रदर्शन भएको ‘कोशेढुङ्गा’ र भदौ १३ मा प्रदर्शन भएको ‘गुन्यो चोलो : द ड्रेस’ को अवस्था पनि सुखद छैन । सुरुआती विकेन्डमा ‘कोशेढुङ्गा’ ले केही शोमा दर्शकको साथ पायो । तर, ‘पूर्णबहादुरको सारंगी’ का निर्देशक सरोज पौडेल निर्देशित फिल्म भनेर गरिएको प्रचारको असर दर्शकसम्म परेन ।
आर्यन सिग्देल, सुरक्षा पन्त, ऋचा शर्मा लगायतका कलाकारको अभिनय रहेता पनि दर्शकले हलसम्म आउने जाँगर चलाएनन् । फलत फिल्मले दोस्रो सातामा न्यून शो पाउने देखिएको छ । यो फिल्मले घरेलु बजारबाट लगानी उठाउन निकै कठिन देखिएको छ भने डायस्पोरा प्रदर्शन सुखद भएको खबर पनि आइसकेको छैन ।
यस्तै, नाजिर हुसेनको अभिनय रहेको फिल्म ‘गुन्यो चोलो : द ड्रेस’ लाई अर्को सातासम्म शो टिकाउन नै मुस्किल भईसकेको छ । समुन्द्र भट्टको निर्देशनमा तयार भएको फिल्मले घरेलु बजारमा युन व्यापार गरिरहेको छ । समग्रमा हेर्दा भदौमा प्रदर्शन भएको ‘माग्ने राजा’ मात्र सफलताको यात्रामा छ ।










