फिल्म । अभिनेत्री नम्रता श्रेष्ठ फिल्मनगरीमा ‘सानो संसार’ मार्फत उदाइन । रेडियो जक्की हुँदै म्युजिक भिडियोमा अभिनय गर्न थालेकी नम्रतालाई आलोक नेम्वाङले आफ्नो डेब्यु निर्देशीय फिल्ममा अभिनय गराउन कन्भिन्स गरे । नम्रताले त्यसपछि ‘क्युट गर्ल’ को ट्याग पाइन् । बेलाबखतमा आफ्नो क्यारेक्टरलाई भिन्न बनाएपनि उनलाई दर्शकले ‘लभर गर्ल’ मा भने रुचाए । हरेक किसिमको भूमिका गर्न रुचाउने नम्रतालाई ‘मेरो एउटा साथी छ’ ले अत्यधिक चर्चा दिलायो । त्यसपछि उनले अभिनय गरेका अधिकांस फिल्म लभ स्टोरी नै छन् । मौन , क्लासिक , प्रसाद लगायतका फिल्ममा उनको अभिनयको राम्रो चर्चा भयो ।
मौनमा सुन्न र बोल्न नसक्ने , क्लासिकमा देख्न नसक्ने भूमिकामा उनले आफुलाई प्रस्तुत गरिन् । जसलाई उनले महसुस गरेकी थिइन् । यसले सबैको मन जित्यो र उनलाई अवार्ड विनर पनि बनायो । यिनै नम्रता यतिबेला आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘जाइरा’ मा फाइटर बनेकी छिन । उनले यस किसिमको भूमिकामा आफुलाई पहिलो पटक प्रस्तुत गरेकी हुन् । नम्रताले आफुले हरेक किसिमको भूमिका गर्न सक्छु भनेर प्रमाणित नगरेकी होइनन् , तर उनलाई अधिकांस अफर भने ‘लभर गर्ल’ कै जाने गर्छ । त्यसैले पनि उनका फ्यानको लागि ‘जाइरा’ क्यारेक्टर नयाँ हुनेछ । ‘सुरुमा म आफैलाई यस किसिमको भूमिका गर्न सक्छु जस्तो लागेको थिएँन तर निर्देशकले मलाइ विश्वस्त पार्नु भयो’ नम्रताले बताइन ।

उनलाई यो फिल्मको अफर भने धेरै नै अगाडी गएको हो । निर्देशक आशुतोष राज श्रेष्ठले उनलाई झन्डै पाँच वर्ष अगाडी नै फिल्म अफर गरेका थिए । तर , नम्रता विश्वस्त थिइनन् । ‘मलाइ अफर आयो तर मैले गर्न सक्छु जस्तो लागेको थिएन’ उनले भनिन् । तर आशुतोषले हार मानेनन् । उनले पुनः अफर गरे । ‘पहिलो अफर गरेको दुइ वर्षपछी फेरी आएको अफरमा म विश्वस्त भए’ नम्रताले भनिन् । निर्देशकको ‘कन्फिडेन्ट’ ले नम्रतालाई कन्भिन्स गर्यो । उनले आफुलाई पनि च्यालेन्जको रुपमा लिईन् । ‘पहिला डर थियो तर मेरो लागि पनि नयाँ थियो त्यसैले फिल्म गर्ने निर्णय गरे’ नम्रताले भनिन् ‘मैले आफुलाई पर्फेक्ट बनाउन आठ महिनासम्म दैनिक पाँच घण्टा प्रशिक्षण लिए ।’

त्यति हुँदा पनि उनलाई डर भने लागेको थियो । किनकी उनलाई दर्शकले ‘लभर गर्ल’ को रुपमा ‘एसेप्ट’ गरिसकेका थिए । ‘ट्रेलरको रेस्पोन्स नपाउँदासम्म डर नै थियो तर पोजेटिभ रेस्पोन्स पाए’ नम्रता ढुक्क सुनिईन् । उनले फिल्मकै लागि कडा मेहनत गरेकी थिईन । शुटिङमा ‘पेनकिलर’ खानु मात्र पतेको थिएन् , क्यारेक्टरलाई जीवन्त देखाउन कपाल नै ‘मुण्डन’ झैँ गरेकी थिइन् । त्यसैले पनि उनको लागि प्रतिक्रिया महत्वपूर्ण थियो । साथै , उनि फिल्मको प्रोड्युसर पनि हुन् । यसअघि पनि उनले ‘सोल सिस्टर्स’ नामक फिल्म निर्माण गरिसकेकी थिइन् । तर , यसपटक उनले विषयवस्तु मन पराएर अन्तिम समयमा निर्माणको अभिभारा सम्हालेकी थिइन् ।

‘हामीले कोहि निर्माता राख्ने भनेर छलफल भएको थियो’ उनले भनिन् ‘त्यतिबेला म इन भएकी हुँ ।’ उनले निर्मात्री भएपछी परिपक्क फिल्मकर्मी भएको महसुश गरिन् । किनकी उनले स्पोट , किचेन देखि आफ्नो कलाकारको बारेमा समेत जानकारी राख्थिन । ‘प्रोड्युसरको काम र कर्तव्यलाई बुझे त्यसले मलाइ झनै परिपक्क हुन् मदत गरेको छ’ उनले भनिन् । फिल्म बनाउन सबैको मेहनत लाग्ने भएकोले त्यसको सफलता र असफलतासँग सबै जोडिएको उनले बुझिन् । पहिला कलाकार हुँदा शुटिङ , डबिङ र प्रोमोसनमा मात्र व्यस्त हुने नम्रता यसपटक पोष्ट प्रोडक्सनमा पनि मज्जैले घुलिन् ।

यतिबेला उनि फिल्मको अवस्थासँगै प्रोमोसनको प्लानिङमा पनि उत्तिकै सक्रिय छिन् । फिल्ममा उनि टाइटल क्यारेक्टरमा छिन् । ‘जाइरा एउटा नाम मात्र हो , त्यो क्यारेक्टरको जीवनको भोगाई नै फिल्ममा देखाएका छौ’ उनले भनिन् । यो नाम निर्देशकले नै जुराएका थिए र नम्रतालाई कन्भिन्स गरे । फिल्ममा नम्रतासँगै प्रमोद अग्रहरी, अनुप बिक्रम शाही, रेमन दास श्रेष्ठ, नव–कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरले अभिनय गरेका छन् । निर्देशक श्रेष्ठ र निरोज महर्जनले पटकथा तयार पारेका हुन् । प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको फिल्मलाई बाबु श्रेष्ठले खिचेका हुन् भने लोकेश बज्रचार्यको सम्पादन छ । अभिनेत्री श्रेष्ठको होम प्रोक्डक्सन नम्रता श्रेष्ठ प्रोडक्सन र ट्रेन्ड सेटर्सको ब्यानरमा निर्माण भएको फिल्ममा सम्राट बस्नेको द्वन्द्व निर्देशन छ ।











