फिल्म । निर्देशक प्रदीप शाहीको निर्देशनमा तयार भएको तेस्रो फिल्म ‘एक्लो’ को विकडेज शोजमा उल्लेखनीय कटौती भएको । १ सय २४ वटा शोजसहित रिलिज भएको यो फिल्म हेर्न विकेन्डमा दर्शकले इच्छा नदेखाएपछि शोज घटेको हो । काठमाडौँ उपत्यकासहित देशभरका मल्टीप्लेक्सले दर्शक अभावका कारण शोज घटाएको छ ।
नयाँ वर्षको अवसर पारेर १ जनवरीदेखि प्रदर्शन भएको फिल्मले सुरुआती दिनमै राम्रो अकुपेन्सी कायम गर्न नसकेपछि प्रदर्शक उत्साही छैनन् । प्रदीप खड्का स्टारर उक्त फिल्मको शोज संख्या आइतबारबाट सुरु भएको विकडेजमा घट्न थालेको हो । यद्यपि, फिल्मको सप्ताहन्त कमाइबारे बक्सअफिसको औपचारिक विवरण भने सार्वजनिक भइसकेको छैन । तर, विवरण सुखद नआउने सङ्केत शोज कटौतीले गरेको छ ।
केही समीक्षक र प्रदर्शकको भनाइलाई आधार मान्ने हो भने फिल्मले दर्शक हलमा आकर्षित मात्र नभई होल्ड गर्न पनि सकिरहेको छैन । प्रदीप खड्कासँगै बेलायती अभिनेता जेमी बेकन, सुनिल थापा र बेनिशा हमालको अभिनय रहेको फिल्मको शोज संख्या रिलिजको तीन दिनमै घट्नु अनपेक्षित मानिएको छ। यसले आगामी दिनमा फिल्मले व्यापार बढाउनेमा सन्देह पैदा गरेको छ ।
निर्देशक शाहीको निर्देशनमा बनेको फिल्मलाई प्रचारप्रसारका क्रममा साइन्स फिक्सन विधाको फिल्मका रूपमा प्रस्तुत गरिएको थियो । तर, दर्शकले मेकिङ र कथावस्तुलाई रुचाएको प्रतिक्रिया दिएका छैनन् ।










